
काठमाडौं । अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले आगामी आर्थिक वर्षको बजेट परम्परागत भन्दा फरक आउनु पर्ने बताएका छन् । बजेट तर्जुमाका सन्दर्भमा आयोजित एक छलफल कार्यक्रममा बोल्दै उनले बजेटमा निजी क्षेत्रलाई लगानी गर्न आकर्षित गर्ने, उत्पादकत्व बढाउने र रोजगारी सिर्जना गर्ने कार्यक्रमहरु समेटिनु पर्ने बताएका हुन् ।
सचिव उपाध्यायले मुलुकमा राजनीतिक स्थिरतासँगै नयाँ आशा सञ्चार भएको अवस्थामा अर्थ मन्त्रालयले सोही अनुरूपको नीतिगत तयारी गरिरहेको जानकारी समेत जानकारी दिए ।
अर्थतन्त्रको आगामी कार्यदिशाका लागि सचिव उपाध्यायले ‘५–डी’ को अवधारणा प्रस्तुत गरेका छन् । उनका अनुसार लोकतन्त्र र सुशासनको लाभमार्फत आर्थिक वृद्धि गर्ने, ६२ प्रतिशत सक्रिय युवा जनशक्तिलाई राष्ट्र निर्माणमा परिचालन गर्ने र निजी क्षेत्रका कानूनी तथा प्रक्रियागत बाधा हटाउन ‘डि–रेगुलेसन’ गर्नु अहिलेको आवश्यकता रहेको बताए ।
त्यसैगरी, प्रविधिको प्रयोगमार्फत तीव्र आर्थिक विकास हासिल गर्न डिजिटल सम्पती र ‘डिजिटललाइजेसन’ मा लगानी बढाउनुपर्नेमा उनको जोड छ ।
सचिव उपाध्यायले विदेशमा रहेका नेपालीहरूको सीप, पुँजी र ज्ञानलाई नेपालको सार्वजनिक पूर्वाधार र उत्पादनशील क्षेत्रमा जोड्नसके देशले आर्थिक समृद्धि हासिल गर्न सहज हुने समेत बताए ।












