किर्ते कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने विमानस्थल अध्यागमनका अधिकृत पक्राउ

काठमाडौँ । फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका अधिकृत पक्राउ परेका छन् । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएअनुसार पक्राउ पर्नेमा अध्यागमन विभागका अधिकृत नरवीर खड्का रहेका छन् ।

आज पत्रकार सम्मेलन गर्दै असोज १९ गतेदेखि हालसम्म नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहका खड्कासहित ३२ जनालाई पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए । उनकाअनुसार आजमात्रै प्रहरीले नेपाल वायुसेवा निगममा कार्यरत ३ जना अधिकृतहरूलाई पनि पक्राउ गरेको छ ।

पक्राउ परेका वायुसेवामा कार्यरत अधिकृतहरू अरविन्द यादव, विश्वनाथ कोइराला र होमनाथ पोखरेल रहेका छन्। पक्राउ परेका ३२ जनामा नक्कली कागजात तयार गर्ने समूह, कन्सल्टेन्सी सञ्चालक र ट्राभल एजेन्सी सञ्चालकहरू रहेको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार कागजात मिलाए बापत ट्राभल एजेन्सीहरुले प्रतिव्यक्ति १५ हजार रुपैयाँ लिने गरेका र अध्यागमन विभागका कर्मचारीहरुले नयाँको हकमा ५५ हजार र पुरानो (एकपटक विदेश पुगेर फर्किएका) हरुको हकमा भने ४० हजार रुपैयाँ लिने गरेको अनुसन्धानमा खुलेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार