
कैलाली । शिक्षकलाई इश्वरको दर्जा दिइन्छ । आमा बुवापछिको सबैभन्दा इज्जत र सम्मान दिइने भनेकै शिक्षकहरुलाई हो । ज्ञानको ज्योती दिने र सत्मार्गमा हिडाउने शिक्षकको मुल कर्तव्य हो ।
तर तिनै शिक्षकले स्कुलमा नै आफ्ना विधार्थीमाथि जातीय विभेद गर्दै निकृष्ट काम गर्छन् भने त्यस्ता शिक्षकलाई के भनेर बुझ्ने ?
कैलालीमा यस्तै निकृष्ट काम गर्ने शिक्षकहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
कैलालीको गौरीगङ्गा नगरपालिका–६ मोयास्थित भैरव आधारभूत विद्यालयमा दलित विधार्थी र कार्यालय सहयोगी दलित महिलामाथि जातीय विभेद तथा छुवाछुत गरेको आरोपमा तीन जना शिक्षक पक्राउ परेका छन् ।
दलित समुदायका विद्यार्थी तथा अभिभावकले दिएको उजुरीका आधारमा शिक्षक भगवती बडैला, टेकराज उपाध्याय र भगवती रेग्मीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनिहरुलाई इलाका प्रहरी कार्यालय मालाखेतीमा राखेर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । सो स्कुलका कथित उपल्लो जातका भनिने शिक्षकहरुले स्कुलका अध्यनरत दलित समुदायका विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्रबहादुर विक, कार्यालय सहयोगी लक्ष्मीदेवी दमाईमाथि जातीय विभेद र छुवाछूत गरेको आरोप छ । स्कुलमा शिक्षकहरुले समेत दलित समुदायकी कार्यालय सहयोगी लक्ष्मीदेवीले दिएको खाजा, पानी नखाने, त्यसैगरी दलित विधार्थीहरुले खानेपानी छुन नपाइने लगायतका ज्यादै निकृष्ट र अमानविय कार्य हुँदै आएको पीडितहरुले बताएका छन् ।
स्कुल जस्तो पवित्र स्थलमा समेत चरम जातीय विभेद तथा छुवाछूत भएकाले दोषीमाथि हदैसम्मको कारबाही हुनुपर्ने आवाज उठिरहेको छ । घटनाका प्रत्यक्ष सरोकार राख्ने सबैलाई अनुसंन्धान गरी कडा कारबाही हुनुपर्ने चौतर्फी आवाज उठिरहेको छ ।










