
काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको दोस्रो खेलमा नेपालले मलेसियालाई सात विकेटले हराएको छ।
ज्ञानेन्द्र मल्लको कीर्तिमानी अर्धशतक सँगै नेपालले फाइनलमा पहिलो जित हात पारेको हो ।
वर्षाका कारण ९ ओभरमा छोट्इएको खेलमा मलेसियाले दिएको ८४ रनको लक्ष्य पाएको नेपालले ६ बल बाँकी हुँदै ३ विकेट गुमाएर जित निकालेको हो । पहिलो खेलमा कतारसँग हार बेहोरेको नेपाललाई यो जितले ठूलो राहत मिलेको छ।
यो जितले नेपालको ग्लोबल छनोटमा पुग्ने सम्भावना कायमै छ ।
नेपाललाई जितका लागि ज्ञानेन्द्र मल्लले कीर्तिमानी अर्धशतक बनाए । २१ बलमा उनले ५ चौका र ३ छक्काको मदतमा ५१ रन बनाए । योसंगै मल्लले आफ्नो नयां रेर्कड राख्न् समेत सफल भएका छन् । छोटो समयमा अर्धशतक बनाउने मल्ल पहिलो नेपाली खेलाडी बने।
मलेसियासंगको खेलमा सोमपाल कामीले ३ विकेट लिए । मलेसियाका दुवै ओपनरलाई आउट गरेका सोमपालले २ ओभरमा २३ रन दिए। १ ओभर बलिङ गरेका बसन्त रेग्मीले २ विकेट लिए। करण केसी र सन्दीप लामिछानेले १र१ विकेट हात पारे।
ईण्डियन एसोसियसन क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ९ ओभरमा ७ विकेट गुमाएर ८३ रन बनाएको थियो । उसका सफिक शरीफले १५ बलमा ३० रन बनाए भने भिरनदीप सिंहले २१ रन जोडे पनि अन्य ब्याट्सम्यान चलेनन् ।
नेपालले अब अर्को खेल शनिबार कुवेतसँग खेल्नेछ। त्यसैगरी, आइतबार अन्तिम खेलमा आयोजक सिंगापुरसंग नेपालले प्रतिस्पर्धा गर्नेछ । यी दुवै खेल जितेमा मात्रै नेपाल विश्व छनोटमा पुग्नेछ।









