रौतहट । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बाढी र डुवानको स्थायी समाधान खोजिनुपर्ने बताएका छन् ।
बाढी पीडितलाई राहत वितरण गर्न बिहीबार गौर पुगेका मुख्यमन्त्री राउतले सञ्चारकर्मीहरुलाई भने, “बाढि र डुबानको रोकथामका लागि स्थायी विकल्प खोजिनुपर्छ, तत्कालको समस्या समाधान गरेर हुदैन ।”
बाढि र डुवानबाट विस्थापित भएकाहरुको पुनर्स्थापनाका लागि प्राधिकरण नै गठन गर्नुपर्नेमा जोड दिदै मुख्यमन्त्री राउतले नदीहरुलाई व्यवस्थित बनाउन र तटबन्धहरुको समुचित व्यवस्थापनमा ढिला गर्न नहुने बताए ।
संघीय सरकारले ठोस नीति बनाएर प्रदेश सरकार र स्थानीय तहको सहभागितामा काम गर्नुपर्ने उनको भनाई छ ।
मुख्यमन्त्री राउतले जिल्ला प्रशासन कार्यालय रौतहटमार्फत बाढीमा मृत्यु भएकाहरुको परिवारलाई एक लाख रुपैयाँ, खाद्यान्न तथा पाल हस्तारन्तरण गरेका थिए ।
प्रदेश सरकारले मृतकका परिवारलाई तीन लाख राहत दिने घोषणा यसअघि नै गरेको थियो । बाढी प्रभावित जिल्लामा प्रदेश सरकारले तत्कालका लागि १० लाख रुपैयाँका दरले राहत रकम पठाएको उनले जानकारी समेत दिए । बर्षापछि आएको बाढिका कारण रौतहटमा १० जनाको मृत्यु हुनका साथै सयौं परिवार विस्तापित भएका छन् ।










