गोरखा । गोरखामा सुन भेटिएको छ । जिल्लाको धार्चे गाउँपालिका–३ खोर्लाबेशीमा ओढारमा लुकाएर राखेको सुन प्रहरीले बरामद हो ।
प्रहरीका अनुसार चुमनुब्री गाउँपालिका हुल्चुकका ब्यापारी धन कमल गुरुङले ओढारमा ढुंगामुनि लुकाएर राखेको १६ वटा बिस्कुट आकारको सुन बरामद गरेको हो ।
उक्त सुनको ढिक्कामा तौल १ हजार ग्राम उल्लेख गरिएको गोरखाका प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए । आधिकारीक सुनको तौल अहिले नै थाहा हुन नसकेको र सुन लुकाउने गुरुङलाई समातेर थप अनुसन्धान भइरहेको एसपी अधिकारीको भनाई छ ।
काठमाडौंमा पक्राउ परेका ब्यापारी धनकमलले ओढारमा सुन लुकाएको ठाउँ देखाएपछि उक्त सुन प्रहरीले बरामद गरेको हो ।
ओढारमा ढुंगामुनि दुईवटा झोलामा सुन लुकाइएको थियो ।
प्रहरीका अनुसार असार ११ गते राति खच्चडलाई सुन बोकाएर गोरखाको उत्तरी सीमानाबाट धार्चे गाउँपालिकाको माछाखोलातर्फ आउँदै गर्दा लुटेरा समूहले आक्रमण गरेको थियो । त्यसपछि धनकमल सम्पर्कविहीन भएका थिए । उनलाई आक्रमण गर्न खोज्ने ४ जना भने पक्राउ परेका थिए ।
पक्राउ परेकाहरुले धनकमलले सुन ल्याएको प्रहरीसमक्ष बताएका थिए । त्यसपछि खोजी गरेको प्रहरीले धनकमललाई बुधबार काठमाडौंमा पक्राउ गरि सुन लुकाएको ठाँउ लगेका थिए ।














