
काठमाडौँ । बर्हिगमित जनमुक्ति सेनाले सरकारले आफूहरुको माग पूरा नगरे अन्तर्राष्ट्रिय फौजदारी अदालत ‘द हेग’ जाने चेतावनी दिएका छन् ।
बिहीबार काठमाडौंस्थित रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गदै बर्हिगमिन जनमुक्ति सेनाले पुनः स्थापनाको लागि आवश्यक र उपयुक्त सहयोग प्रदान नगरे माओवादीका तत्कालिन नेताहरु प्रचण्ड, डा. बाबुराम भट्टराईलगायत द्वन्द्वसँग जोडिएकाहरुलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतमा पु¥याउने चेतावनी दिएका हुन् ।
बर्हिगमित जनमुक्ति सेना नेपाल केन्द्रीय संघर्ष समितिका इन्चार्ज लेनिन बिष्टले पत्रकार सम्मेलनमा भने, “नत प्रभावित बालबालिकाहरुका लागि आवश्यक र उपयुक्त सहयोग गरियो, नत सरकार र सरोकारवाला पक्षले बालसैन्य भर्तीबाट भएको अधिकारको उल्लंघनको जिम्मेवारी लियो, तीन महिनाभित्र प्रचण्ड, बाबुराम भट्टराईलगायतका नेताहरुलाई हेग पु¥याइ छोड्नेछौं ।”
इन्र्चाज बिष्टले जनयुद्धको औचित्य पुष्टि गर्न समेत प्रचण्ड र बाबुरामलाई चुनौती दिए । पत्रकार सम्मेलनमा बर्हिगमित जनमुक्ति सेनाहरुले सामाजिक न्यायमा आधारित भएर एकमुष्ठ सामाजिक तथा आर्थिक कार्यक्रम बनाएर लागू गर्न माग गरे ।









