काठमाडौं। मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा २ जना मदजुरको मृत्यु भएको छ । काठमाडौं १६, बालाजु चोकमा मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा सप्तरीका २५ वर्षीय सुरेश साह र २० वर्षीय शिवराम साहको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरु दुवैजना दाजुभाई हुन् ।
दुवैजना दाजुभाई बिहीबार राति १० बजेतिर बालाजु चोकस्थित मेलम्ची खानेपानी आयोजनाको गेटभल्व सफा गर्न पाइपभित्र छिरेका थिए । पाइपभित्र छिरेको १ घण्टासम्म पनि दुवै जना बाहिर नआएपछि अरु मजदुरले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले स्काभेटरको प्रयोग गरी गेटभल्व रहेको ठाउँमा खनेर दुवैजनालाई बाहिर निकालेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। दुईजनामध्ये १ जनाको बाहिर निकालेर उपचार गर्न लैजाने क्रममा बाटोमा र अर्काको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको डिएसपी बोगटीले बताए ।









