
चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको विषयमा अनुसन्धानका लागि पक्राउ परेका संचारकर्मी रवि लामिछानेसहित ३ जनालाई प्रहरीले शुक्रबार अदालतमा पेश गर्दैछ ।
चितवन प्रहरीका अनुसार अहिले बिहान ११ बजेपछि रबिसहित ३ जनालाई अदालतमा पेश गरिन लागिएको हो ।
प्रहरीले तीनैजना बिरुद्ध आत्महत्या गर्न दुरुत्साहन दिने र त्यस्तो काम गर्नसम्मको परिस्थिति खडा गरेको अभियोगमा कारवाही प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।
फौजदारी अभियोगमा पक्राउ परिसकेपछि चौबिस घण्टाभित्र अदालतको म्याद लिएर न्यायिक हिरासतमा राख्नुपर्ने कानूनी ब्यवस्था अनुसार प्रहरीले चितवन जिल्ला अदालतमा पेश गर्न लागेको चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए।
विद्यमान कानुनअनुसार प्रहरीले पक्राउ परेका तीनैजनालाई पच्चिस दिनसम्मको न्यायिक हिरासतमा राखी मुद्दा अघि बढाउन सक्नेछ । काठमाडौंवाट पक्राउ परेका लामिछानेसिहत न्युज २४ कै युवराज कडेंल र रुकु भनिने नर्स अस्मिता कार्कीलाई बिहीबार राति नै काठमाडौंबाट चितवन ल्याइ जिल्ला प्रहरी कर्यालयको थुनुवा कक्षमा राखिएको थियो ।
राती एक बजेतिर चितवन पुर्याइएका तीनै जनाको गएराति नै स्वास्थ्य परीक्षण समेत गरिएको चितवन प्रहरीले बताएको छ । स्थानिय संचारकर्मीका अनुसार हिरासतमा राखिएका उनीहरुको फोटो, भिडियो समेत खिच्न दिइएको छैन ।










