काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको विषय संसदमा उठेको छ । घटनाको अनुसन्धानका लागि पक्राउ परेका सञ्चारकर्मी रवि लामिछाने पक्षमा भइरहेका आन्दोलनको विषयमा संसदमा कुरा उठेको हो ।
सांसद महेश्वरजंग गहतराजले संसदको शून्य समयमा बोल्दै घटनाका विषयमा जसरी बाहिर कुरा आइरहेको छ यो विषयमा सबैले सोच्नु पर्ने बताएका छन् । उनले यस्ता आन्दोलनले घटनाको छानविनलाई प्रभावित पार्ने भएकाले रोक्नु पर्ने बताएका छन् ।
उनले घटनाको निस्पक्ष छानविन गर्न माग समेत गरे । उनले अनुसन्धानका लागि पक्राउ परेका रवि लामिछानेको समर्थनमा भइरहेको प्रदर्शनलाई अराजक, गैरकानुनी र अस्वभाविक हुलहुज्जतको संज्ञा दिएका छन् । यस्ता अराजक र गैरकानुनी गतिविधिको निन्दा र भत्र्सना गर्नु पर्ने बताए ।
प्रहरीले अनुसन्धान गर्ने र अदालतले दोषी प्रमाणित गर्ने संवैधानिक र कानुनी प्रक्रिया रहे पनि त्यसलाई ठाडो उल्लंघन गर्दै भइरहेका गतिविधि, क्रिया प्रतिक्रिया, देशको शान्ति सुरक्षा र सुशानकाविरुद्ध रहेको बताएका छन् ।
यस्तै शून्य समयमा बोल्दै सांसद यज्ञराज सुनुवारले मृतक पत्रकार पुडासैनी र अनुसन्धानका लागि नियन्त्रणमा रहेका पत्रकार रवि लामिछानेको समर्थमा छुट्टाछुट्टै प्रदर्शन भइरहेको भन्दै यस घटना बारे सत्यतथ्य छानविन गरी जानकारी गराउन सरकारसंग माग गरेका छन् ।
यस्ता गतिविधिले घटनाको छाविन प्रभावित पार्ने भएकाले यी गतिविधि रोक्नु पर्नेमा सांसदको जोड् थियो ।










