
काठमाडौं । सुदूरपश्चिम तथा मध्यपश्चिममा आज गौरा पर्व धुमधामसंग मनाउँइदै छ । उमा महेश्वरसहित दुवोको पूजा गरेर देउडा खेलेर यो पर्व मनाइदैछ ।
भाद्र शुक्ल अष्टमीका दिन मनाउनुपर्ने भए पनि यस वर्ष त्यसअगावै अगस्त्य ऋषिको उदय हुने भएकाले कृष्ण जन्माष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए।
भाद्र शुक्ल अष्टमीमा मनाइने गौरालाई उज्याली र कृष्ण अष्टमीमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ। यसैले यस वर्षको गौरालाई अँध्यारी भनिन्छ । पहिलो पटक व्रत बस्नेले भने भाद्र शुक्ल अष्टमीअर्थात् उज्याली गौराबाटै शुरु गर्नुपर्ने व्रत विधान छ।
“यस वर्ष अगस्ति ताराको उदय भदौ १९ गते बिहीबार बिहान १०ः१८ बजे हुने भएकाले कृष्ण अष्टमीकै दिन गौरा पर्व मनाउनुपर्ने शास्त्रीय वचनअनुसार समितिका विज्ञ सदस्यहरुको बैठकले भदौ ६ गतेको निर्णय गरेको हो”, उनले भने । कन्या राशिमा सूर्य गएपछि अर्थात् असोज महीना लागेपछि पनि गौरा मनाउनु हुँदैन। सिंह राशिमा सूर्य भएका बेला अर्थात् भदौ महीनामा गौरा मनाउनुपर्ने मानसखण्ड, निर्णयसिन्धु, हेमाद्रि लगायत ग्रन्थमा उल्लेख गरिएको छ।
गौरालाई सुदूरपश्चिम र मध्य पश्चिम क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरेका छन्।
सत्य युगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी वर्षा ऋतुको भाद्र महीनामा जल, जङ्गल, जमीन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा यो पर्व मनाउन शुरु गरिएको देउडा संस्कृतिविद् गायक नन्दकृष्ण जोशीले जानकारी दिए।
गौरा पूजा गर्नका लागि पाँच वनस्पति कुश, काँस, सामा (सौँ), तीतेपाती र अपामार्ग कतै तिलको बिरुवा पनि राखेर देवीको आकार बनाउने गरिन्छ। यसरी बनाइएको देवीलाई भाद्र कृष्ण अष्टमीका दिन गाउँको सफा घरमा भित्र्याएर व्रतालुले निराहार बसी पूजा गर्ने परम्परा छ ।
यो पर्वका लागि भाद्र कृष्ण पञ्चमीका दिन केराउ, जौ, मस्याङ, मास र गुराँसको गेडा भिजाएर राखिन्छ, यसलाई बिरुडा भनिन्छ, अष्टमीमा भगवतीलाई पूजा गरेर प्रसादका रूपमा बिरुडा चढाइन्छ । यो पाँच किसिमका गेडागुडी मिसाएर भिजाउने दिनलाई बिरुडा पञ्चमी भनिन्छ।
यसरी दुई तीन दिन पूजा गरिसकेपछि मङ्गलबार र शनिबार नपारी देवीलाई नदी, कुवा, पोखरी वा जलाशयमा लगी सेलाइने परम्परा छ ।
काठमाडौंको टुडिखेलमा पनि गौरा भव्य
राजधानी काठमाडौंमा पनि हरेक बर्ष गौरा भव्य रुपले मनाइदै आएको छ । यसबर्ष पनि गौरा पर्व संगै देउडा खेलहरु हुदैछन् । देउडा खेल्न सुदूरपश्चिमका शिर्ष नेताहरु आउने गरेका छन् । काठमाडौंमा सुदूरपश्चिम र मध्य पश्चिम क्षेत्रका मानिसको बसोवास रहेकाले क्षेत्रिय पर्वहरु पनि काठाडौं धुमधासंग मनाइदै आएको छ ।










