फेरि किन दैनिक ७ घण्टा अन्तर्राष्ट्रिय विमानस्थल बन्द ? थाहा पाउनुहोस


काठमाडौं । नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थल फेरि दैनिक ७ भण्टा बन्द भएको छ । विमानस्थलको धावनमार्ग लगायतका जीर्णोद्धारको दोस्रो चरणको काम आइतबारबाट शुरु भएपछि दैनिक ७ घण्टा बन्द हुने भएको हो ।

विमानस्थलको बाँकी मर्मतको कामले गर्दा बेलुका साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म विमानस्थल बन्द रहने विमानस्थल कार्यालयका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार आजदेखि पुस १५ गतेसम्मका लागि दैनिक ७ घण्टा विमानस्थल बन्द गरी मर्मतको काम सम्पन्न गरिनेछ ।
बन्दको यो अवधिका विमानस्थल बन्द गरी रनवे सेन्टर लाइन लाइट, ट्याक्सी वे तथा ट्याक्सी वे र रनवे जोड्ने लिङ्क रोड निर्माण लगायतको काम हुने महाप्रबन्धक क्षेत्रीले बताए ।

विमानस्थल मर्मतको काम शुरु भए पनि साताको तीन दिन ३० मिनेट विमानस्थल खुला हुने विमानस्थल कार्यालयले जनाएको छ । यो बिशेषगरी नेपालले हालै जपानका लागि सुरु गरेको हवाई सेवालाई मध्यनजर गरि समय छुट्याइएको हो ।

विमानस्थल निर्माणको कार्य पहिलो चरणअन्तर्गत गत चैत १८ देखि असार १५ गतेसम्म विमानस्थलको धावनमार्ग मर्मतको काम गरिएको थियो । विमानस्थलको धावनमार्ग तीन हजार ५० मिटर लम्बाइ र ४६ मिटर चौडाइको छ ।

विमानस्थल विकास शुल्कबापत यात्रुबाट लिइँदै आएको एक हजार रुपैयाँ सङ्कलनबाट विमानस्थल मर्मतको काम अघि बढाइएको हो । रु चार अर्ब ७८ करोड लागतमा धावनमार्ग मर्मतसम्भारको जिम्मा चीनको सरकारी कम्पनी चाइना नेशनल एरो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनीयरिङले लिएको छ ।

हाम्रा भिडियो सामाग्रीहरु पनि हेर्नुहोस

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार