झापा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले नेपालमा अबको ५० वर्ष कम्युनिस्ट सरकारले शासन गर्ने दावी गरेका छन् ।
झापाको विर्तामोडमा शनिबार आयोजित गौरीशङ्कर खड्का स्मृति प्रतिष्ठानको साधारणसभा उद्घाटन समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले कम्युनिस्ट आन्दोलनप्रति जनताको आशा र भरोसा अझ बढेकाले अबको ५० वर्ष कम्युनिस्ट सरकारको नेतृत्व रहने दावी गरेका हुन ।
“नेपाली आम जनताले पाँच वर्ष मात्र नभएर अबको पचासौँ वर्षसम्म कम्युनिस्टले नै सरकार चलाएको हेर्न चाहेका छन्, अध्यक्ष प्रचण्डले भने।” नेपालमा कम्युनिष्ट शक्तिले सरकार चलाएको देख्न नसक्नेहरु अहिले जनतामा भ्रम फिजाइरहेको उनको भनाइ छ ।
आर्थिक समृद्धि र शान्तिको युगतर्फ मुलुकलाई लैजाने अवसर नेपाली जनताले आफुहरुलाई दिएको प्रचण्डले बताए । कम्युनिष्ट सरकार देशको विकास र जनतालाई सुखी राख्ने योजनासहित अघि बढिरहेको देखेर आत्तिएका केहि प्रतिकृयावादीहरु बिरुद्ध नेकपा केहिदिनमा जनतामाझ विभिन्न कार्यक्रम लिएर आउने तयारीमा रहेको समेत उनले जानकारी दिए ।
कम्युनिष्ट सरकारले जनता र राष्ट्रको हितमा गरेका असल कामको बिषयमा जनतालाई बुझाउनु आफुहरुको दायित्व रहेको प्रचण्डको भनाई थियो ।










