
जनकपुरधाम । नेपाललाई भारतको राजधानी नयाँदिल्ली, कोलकत्तालगायत प्रमुख शहरसँग जोड्ने लक्ष्य लिएको रेल सेवा अझै सुचारु हुन सकेको छैन। गतवर्षको असोजदेखि जनकपुरधाम–जयनगर रेल सेवा सुरु हुने चर्चा थियो तर चलेन। रेल चल्ने भनेर धेरै पटक मिति तोकिए पनि त्यो केवल चर्चामै सिमित रहयो।
रेल विभागका महानिर्देशक बलराम मिश्रले मंसिरदेखि रेल चल्ने बताएका छन्। ‘रेल सेवा सुचारु गर्न कम्तिमा २ सय कर्मचारी चाहिन्छ, तर कर्मचारी छैन’, महानिर्देशक मि श्रले भने, ‘कर्मचारी भर्ना प्रक्रिया र रेल ईन्जिन नेपाल ल्याउन केहि महिना लाग्छ, तर अब ढिलो हुँदैन। मंसिरको मध्यसम्ममा रेल चल्छ।’
नेपाल सरकारले रेल ईन्जिन खरिद प्रक्रिया, आवश्यक जनशक्ति जोरजाम गर्न नसकेकाले रेल सञ्चालनमा ढिलाइ भएको विभागका कर्मचारीको भनाइ छ। ‘सुरुमा भारतसँग रेलको ईन्जिन भाडामा लिएर सेवा सञ्चालन गर्ने सम्झौता भएको थियो। पछि नेपालले रेल खरिद गरेर सञ्चालन गर्ने पक्रिया अघि बढयो’, महानिर्देशक मित्रले भने, ‘नेपालले दुई वटा रेल किन्न भारतको सरकारी कम्पनी कोकण रेलवेज कर्पोरेसन लिमिटेडसँग सम्झौता गरेकाले रेल निर्माण अन्तिम चरणमा पुगेको छ।’
पहिलो चरणमा भारत विहारको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म ३५ किलोमिटरमा रेल सञ्चालन गर्न भौतिक संरचना, रेल्वे लिकलगायत आवश्यक पूर्वाधार पूर्ण रुपमा तयार भएको महानिर्देशक मिश्रले बताए। जयनगरदेखि बर्दिवाससम्म ६९ किलोमिटर रेल्वे मार्ग तीन चरणमा निर्माण भइरहेको छ।
रेलले आर्थिक समृद्धि
पछिल्लो मधेश आन्दोलन, बन्द हडताल, जनकपुर पुनःनिर्माणमा यहाँका उद्योगी व्यवसायीले व्यहोरेको घाटा जनकपुरधाम–जयनगर रेल सञ्चालपछि उठ्ने जनकपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जितेन्द्र महासेठको भनाइ छ। ‘रेल सेवा सञ्चालनपछि विगतमा चौपट भएको व्यापार व्यवसायको क्षतिपुर्ती हुने विश्वास लिएका छौं’, उनले भने।
प्राध्यापक तथा अर्थशास्त्री डा. बरुणलाल कर्णले रेलसेवा सञ्चालनपछि विकास हुने दुई वटा आधार रहेको बताए। ‘एक त पर्यटन उद्योगको विकास हुन्छ र अर्को व्यापार व्यवसाय फस्टाउँछ, व्यवसाय फस्टाएपछि रोजगारीका अवसरसमेत सिर्जना हुन्छ’, डा. कर्णले भने।-अन्नपुर्णपोस्टबाट










