
काठमाडौं । राजधानी छिर्न मुख्य नाकाका रुपमा रहेको नौविसेमा लामो जाम हुँदा एकजनाको मृत्यु भएको छ । उपचारका लागि रौतहटबाट काठमाडौं ल्याइँदै गरिएका एक बिरामीको नौबीसेको जाममा फसेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा रौतहटको गौर नगरपालिका–७ का ३५ वर्षीय रुपलाल साह रहेका छन् ।
मिर्गौला रोगी साहलाई रौतहटबाट काठमाडौं आउँदै गरेको ना ७ ख ५३६४ नंको बसमा राखेर उपचारका लागि काठमाडौं ल्याइँदै थियो । उनको थाक्रे गाउँपालिका–२, हुलाकडाँडास्थित पृथ्वीराजमार्गमा बसभित्र मृत्यु भएको महादेवबेँसी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बाबुलाल श्रेष्ठले जानकारी दिए ।
दुवै मिर्गौला फेल भएका शाहलाई डायलसिसका लागि काठमाडौं ल्याइदै थियो । करिब १२ घण्टा जाममा बस्दा उनका् उपचार नपाइ मृत्यु भएको हो । केहि दिनदेखि नैविसे सडकखण्डमा घण्टौं जाम हुँदा दशैमा घर गइरहेका यात्रुहरुले निकै सास्ती पाइरहेका छन् ।










