संसारमा सबैभन्दा बढि मनाइने पर्व “ख्रीष्टमस”को सार्वजनिक विदा दिन माग

नेपालमा १२,५०० चर्च र ३० लाख भन्दा बढि ख्रीष्टीयन

काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालले “ख्रीष्टमस” को सार्वजनिक विदा दिन माग गरेको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर महासंघले यस्तो माग गरेको हो । हरेक बर्ष डिसेम्बर २५ तारेखका दिन इसाइ समुदायले विश्वभर धुमधामसंग ख्रीष्टमस मनाउने गर्दछन् ।

महासंघले अघि सारेका मागहरुमा ख्रीष्टियन समूदायको महान पर्व “ख्रीष्टमस” का दिन डिसेम्बर २५ का दिनलाई तत्काल सार्वजनिक विदा कायम गर्नुपर्ने, नेपाल सरकारसँग भएका ६ बुँदे सहमतिहरुलाई तत्काल कार्यान्वयन गरी राष्ट्रिय ख्रीष्टियन आयोग गठन तथा नेपाली ख्रीष्टियन चर्चहरुको सम्पत्ति तथा दायित्वहरु व्यवस्थित् गर्नका लागि नीतिगत व्यवस्था गर्नुपर्ने, नेपाल सरकारसँग भएको ३ बुँदे सहमति अनुसार नेपाली ख्रीष्टियन समूदायको लागि तत्काल समाधिस्थलको व्यवस्था गर्नुपर्ने र गत भदौ १ गतेदेखि कार्यान्वयनमा ल्याएको मुलुकी ऐन–२०७४, मुलुकी अपराध (संहिता) ऐनका परिच्छेद ९ को १५७ र १५८ मर्मविपरित भएका प्रावधानहरुलाई तत्काल संशोधन गर्नुपर्ने प्रमुख मागहरु  रहेका छन् ।

महासंघले जारी गरेको विज्ञप्तीमा भनिएको छ,” स्वाभिमान र अधिकारसम्पन्न नेपाली ख्रीष्टियन समूदायको सुनिश्चितताको लागि धार्मिक, सामाजिक, आर्थिक, समावेशी र समृद्ध नेपालको परिकल्पना गर्दै विश्वभरि रहेका नेपाली भाषी मण्डलीहरुसँग सहकार्य गर्दै परमेश्वरको महिमाको निम्ती राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपाल निरन्तर रुपमा क्रियाशिल रहेको अवगत गर्दै प्रतिबद्ध रहेको कुरा जानकारी गराउँदछौं ।”

महासंघकाअनुसार नेपालमा करिब १२,५०० भन्दा बढि चर्च (मण्डली) हरु रहेका छन् । महासंघले भनेको छ,”३० लाखको संख्यामा नेपाली ख्रीष्टियनहरु रहेको हाम्रो देश नेपालमा वि.सं. २०६४ देखि २०७२ सालसम्म निरन्तर रुपमा ख्रीष्टियनहरु महान पर्व ख्रीष्टमसको अवसरमा नेपाल सरकारले सार्वजनिक विदा दिँदै आएको र वि.सं. २०७३ सालमा काटिएको विदालाई पूनः सार्वजनिक विदा कायम गरेको थियो ।”

कार्यक्रममा महासंघका अध्यक्ष सि.बी. गहतराजले सर्वोच्च अदालतले पनि ख्रीष्टमसको दिन दिईँदै आएको सार्वजनिक विदालाई कटौती नगर्न आदेश दिएको सुनाउँदै भने,”सरकारले पनि हामीसँग यो अवसरमा विदा दिने भनेर सार्वजनिक रुपमै सहमति गरिसकेको अवस्था छ । तर, अहिलेसम्म उक्त सहमति कार्यान्वयन भएको छैन् ।” उनले सार्वजनिक विदासम्बन्धी बनेको पूनरावलोकन समितिले पनि १३ वटा सार्वजनिक विदाभित्र ख्रीष्टमसलाई पनि समावेश गरिएको उनले सुनाए ।

उनले ख्रीष्टमस संसारमै सबैभन्दा बढि मनाईने उत्सव भएको हुनाले नेपालमा पनि यो पर्व मनाउनेको संख्या लाखौंमा रहेको स्पष्ट पारे ।

कार्यक्रममा महासंघका प्रवक्ता उद्धवप्रसाद चिमोरिया, महासंघका बरिष्ठ सह–अध्यक्ष डा. फिलेमन क्षेत्री, उपाध्यक्ष बाबुराम हिङमाङ, सचिव प्रेम बहादुर कार्की, विभागीय प्रमुखहरु करण सिलवाल र मुकेश मोक्तानको सहभागिता रहेको थियो ।

ख्रीष्टमसमा हरेक बर्ष सरकारले दिदै आएको  सार्वजनिक विदा केहि समय यता कटौती गर्दै आएको छ । इसाइ समुदायले मनाउने ख्रीष्टमस लगायत जनजाती आदीवासी, थारु समुदायले मनाउने प्रमुख चाँडपर्वमा समेत दिइदै आएको सार्वजनिक विदा सरकारले कटौती गरेकोमा उनिहरु विदा कायम गर्नुपर्ने माग गर्दै आएको छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार