
काठमाडौँ — त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको कार्यकक्षमा तोडफोड भएको छ । आइतबार दिउँसो केही विद्यार्थीले उपकुलपतिलाई भेट गर्ने भन्दै कार्यकक्षमा छिरेर उनको कार्यकक्षमा रहेको कुर्सी र टेबल तोडफोड गरेका हुन् ।
टेबलमा रहेका कागजात छरपस्ट भएको र सिसाको कप फुटेको छ।‘उपकुलपतिसँग कुरा गर्नुछ भनेर विद्यार्थी आए,’ उपकुलपति कार्यालयका प्रमुख कमल घिमिरेले कान्तिपुरसित भने, ‘हामी कर्मचारीलाई बाहिर जान भनेपछि हामी निस्कियौं। दुई मिनेट नहुँदै झगडाको आवाज आएपछि भित्र हेर्दा उपकुलपतिको टेबल, कुर्सी पल्टाएछन्। सिसाको कप फुटाएछन्।’
उपकुलपतिले आफूखुसी विभिन्न विभाग र क्याम्पसमा तीन महिने नियुक्ति गरेको विषयमा ती विद्यार्थीले असन्तुष्टि जनाएको बुझिएको छ। त्यस विषयमा उपकुलपति बाँस्कोटाले ‘म मिटिङमा छु’ भनेर बोल्न चाहेनन्।-इकान्तिपुरबाट













