रुकुम घटनाबारे ‘संसदीय विशेष छानविन समिति’ गठन हुने, अहिलेसम्म २५ जना पक्राउ


काठमाडौँ । अन्तरजातिय प्रेमलाई लिएर रुकुममा भएको नरसंहारको छानविनका लागि संसदले विशेष समिति बनाउने भएको छ ।
शुक्रबार बिहान बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त घटनाको छानविनका लागि विशेष समिति बनाउने बताएका हुन् ।

बैठकमा कांग्रेस संसदीय दलकी सचेतक पुष्षा भुषालले संसदीय समिति बनाएर घटनाको छलफल गर्नुपर्ने माग गरेलगत्तै सभामुख सापकोटाले राजनीतिक दलहरुसँग छलफलगरी समिति बनाउने बताएका थिए ।

जेठ १० गते रुकुमको चौरहजारी-८ सोतीमा अन्तरजातिय प्रेमलाई लिएर ६ जना युवाको हत्याको विषयमा संसदले विशेष समिति बनाई छानविन गर्नुपर्ने माग उठ्दै आएको थियो । सोतीमा रहेकी प्रेमिका सुष्मा मल्ललाई लिन गएका जाजरकोटका २१ वर्षीय नवराज विकसहितको टोलीमाथि गाउँलेले आक्रमण गर्दा ६ जना युवाहरुको मृत्यु भएको थियो ।

सुष्माले आफुलाई लिन बोलाएपछि साथीहरुसहित गएका नवराजमाथि गाउँलेले आक्रमण गर्दा नवराजसहित उनका साथीहरु गणेश बुढामगर, गोविन्द शाही, टीकाराम नेपाली, लोकेन्द्र सुनार र सञ्जु विकको मृत्यु भएको थियो । नवराज बेहुली लिन जाने भन्दै आफ्ना १८ जना साथीहरु लगेर सोती पुगेका थिए ।

पीडित परिवार र नवराजका घाइते साथीहरुकाअनुसार सुष्माकी आमाले जातिय गाली गलौच गर्दै गाउँलेहरुलाई कुट्न बोलाएकी थिइन ।
त्यसपछि ठुलो संख्यामा गाउँलेहरु घरेलु हातहतियार, ढुंगामुडा गरेर आक्रमण गर्न आएका थिए । उक्त घटनामा मृत्यु भएका ६ वटै युवाको शवमा घरेलु हातहतियारले हानेका घाउ चोट, निल डाम, विभिन्न अँगहरु भाँचिएको, टाउकोमा चोट लागेको अवस्थामा भेटिएका थिए ।

अहिलेसम्म २५ जना आरोपित पक्राउ
रुकुम सोतीमा भएको नरसंहारमा अहिलेसम्म २५ जना आरोपित पक्राउ परेका छन् । घटनामा संलग्न वडाध्यक्ष डम्मरबहादुर मल्लसहित डिल्ली मल्ल, तुलबहादुर मल्ल, प्रेमबहादुर ठकुरी, वीरबहादुर मल्ल, प्रकाशी मल्ल, सन्तोष मल्ल, मोहन पुनमगर, रमेशबहादुर मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, सुष्मा मल्ल लगायत २५ जनालाई पक्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार