जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका–४ सार्कीगाउँमा गत राति गएको पहिरोमा बेपत्ता भएका १२ जनामध्ये ७ जनाको शव फेला परेको छ । सार्की गाउँका गएको पहिरोमा परी ५२ वर्षीय गोपाल सार्कीे, उनका ११ वर्षीय छोरा अजुर्न र कोसे गाउँपालिका–९ का २० वर्षीय डिल्ली सार्की र १८ वर्षीय विरेन्द्र सार्कीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
प्रहरीका अनुसार डिल्ली र विरेन्द्र पाहुना बनी गएका थिए । फेला परेका अन्य ३ शवको खनाखत हुन सकेको छैन् । पहिरोमा परी हराइरहेकाहरुको उद्धार टोलीले खोजीकार्य गरिरहेको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए ।
सार्कीगाउँको पहिरोमा परी ५२ वर्षीय घरमुली गोपाल सार्की, उनकी श्रीमती ५० वर्षीया पुष्पा, १३ वर्षीया छोरी लक्ष्मी र ११ वर्षीय छोरा अर्जुन, अर्का घरमुली कलु सार्की, उनका १४ वर्षीया छोरी तिर्खा, ११ वर्षीया छोरी कमला, ६ वर्षीय छोरा सुभाष र पाहुना बस्न आएका कुशे गाउँपालिका ९, चौराँटाका २० वर्षीय डिल्ली, १४ वर्षीया गौरी, १६ वर्षीया कविता र १८ वर्षीय वीरेन्द्र वेपत्ता भएका थिए ।
अविरल बर्षाले बारेकोट गाउँपालिकाको ५० प्रतिशत भूगोलमा पहिरो गएको अध्यक्ष शाहले बताए । पहिरोका कारण वडा नम्बर ४ र ५ का अन्य गाउँहरु पनि उच्च जोखिममा रहेको अध्यक्ष शाहले जानकारी दिए ।