“म अचेल बडों बिस्मातमा छु”
मलाई हिजो “धर्म अफिम हो” भनि सिकाउनेहरू,
आज निरिह राँगा, बोका, परेवा बोकेर मन्दिर धाएको देख्दै छु
फूल, अक्षेता चढाएर भाकल गरेको सुन्दैछु ।
मलाई हिजो “सर्वहारा” जीवनपद्दतिको दुहाई दिनेहरू
आज चिल्ला गाडीमा सयर गरेको देख्दैछु,
महल जोड्दै जग्गा दलाली गरेको सुन्दैछु ।।
मलाई हिजो “बुर्जुवा शिक्षा” नपढ्न फर्मान गर्नेहरू,
आज सर्टिफिकेट तेर्साउदै, पदहरू हत्याएको देख्दैछु
त्यसैलाई भजाएर राजनीतिक नियुक्ति पाएको सुन्दैछु ।।
मलाई हिजो “विस्तारवादी” भनी छिमेकीप्रति विष वमन गर्न सिकाउनेहरू
आज पाहुनाको सत्कारको नाममा सास्टाङ्ग दण्डवत गरेको देख्दैछु,
बरू आज सीमाना बचाउन ज्यानको बाजी लगाउने
आफ्नै देशभक्त जनतालाई देशद्रोही भनेको पो सुन्दैछु
त्यसैले म हिजो आज बढो बिस्मातमा छु ।।