हुम्ला । मनसुन सुरुभएपछि परेको अविरल वर्षाका कारण देशका धेरै ठाउँमा बाढी र पहिरोले समस्या निम्त्याएको छ । अविरल वर्षाका कारण पहिरोले घरबास बगाउनुका साथै कतिको ज्यान गएकोले समस्या भएको हो ।
अहिलेसम्म बाढी र पहिरोका कारण १ सय भन्दा बढीले ज्यान गुमाएका छन् भने दर्जनौं बेपत्ता छन् । त्यस्तै दर्जनौं परिवार बिचल्लीमा परेका छन् ।
यस्तै बिचल्लीमा परेको छ हुम्लाको ताँजकोट ४ खर्राकको दलित बस्तीका २२ घरधुरी । लगातारको वर्षाले स्थानीय जिमकोइला खोलामा गएको पहिरोका कारण बस्तीका सबै घर भत्किने अवस्था भएपछि उनीहरुको बिचल्ली भएको छ ।
बस्तीका २२ पहिरवारले ज्यान बचाउनकै लागि भएपनि बिहीबार बिहानैदेखि सबै घर छाडेर अन्यत्र बसेका छन् । उनीहरु अहिले देउला गैरा भन्ने ठाउँमा पाल टाँगेर बसेका छन् ।
लगातारको वर्षाले दुई घरमा क्षति पुगेको छ भने अन्य सबै घर भत्किने जोखिममा रहेको स्थानीयले बताएका छन् । घर माथिबाट आएको पहिरोले उनीहरुको घर झुण्डिएको अवस्थामा रहेका छन् ।
पहिरोले घरका साथै उनीहरुले लगाएको मकै, कोदो, धान सबै बगाएको छ । ज्यान बचाउनकै लागि भएपनि उनीहरु पशुचौपाया लगेर पालमा बस्न गरेको बताइएको छ ।
बस्तीबारे अहिले स्थानीय सरकार पनि बेखबर रहेको छ । पहिरोले २२ परिवारको उठिबास भइसक्दा पनि स्थानीय सरकार पुग्न सकेको छैन् । तर, प्रहरीको टोली भने घटनाबारे बुझ्न गएको बताइएको छ ।