जाजरकोटको सार्कीगाउँका पहिरो पिडित परिवारको बिचल्ली


जाजरकोट । जाजरकोटको सार्कीगाउँका पहिरो पिडितको बिचल्ली भएको छ । पहिरोका कारण विस्थापित भएका जिल्लाको बारेकोट गाउँपालिका ४ जिरी सार्कीगाउँका ३३ परिवारको बिचल्ली भएको हो ।

गएको असार २५ गते राती घरमाथिबाट गएको पहिरोका कारण सार्कीगाउँमा दुई घर पुरिदा १२ जनाको मृत्यु भएको थियो । पहिरोबाट सार्कीगाउँका ३३ घर परिवारका तीन सय बढीको बिचल्ली भएको स्थानीयले बताएका छन् ।

पर्याप्त खेतबारी नहुदाँ अन्नबाली नहुने उनीहरु मजदुरीकै भरमा गुजारा गर्ने गरेका थिए । तर पहिरोले दुई घरका १२ जनाको एकै चिहान बनाएपछि बाँकी रहेका छिमेकी त्यहाँबाट विस्थापित भएका स्थानीय पत्रकार लोकेन्द्र विश्वकर्माले बताएका छन् ।

उनीहरु अहिले भगवती आधारभूत विद्यालयको चौरमा पाल टाँगेर बसेका छन् । बस्नका लागि पाल टाँगेको भएपनि खान र लगाउन समस्या भएको छ ।

अहिलेसम्म कसैले पनि आफुहरुलाई सहयोग नगरेको उनीहरुले बताएका छन् । राहतका लागि स्थानीय राजनैतिक दलले आश्वासन दिएपनि सहयोग नगरेको उनीहरुको गुनासो छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार