
बाजुरा । हिजारातिदेखि परेको अविल वर्षासँगै आएको बाढीले बगाउँदा बाजुरामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बुढिनन्दा नगरपालिका ६ का नरे ल्वाहारकी ७५ वर्षीया श्रीमती भिमु ल्वाहार रहेकी छन् ।
गाउँ नजिकैको बड्डीगाड खोलामा रहेको पानी घट्टमा पिठो पिस्न गएकी उनाई गएराति १२ बजेतिर खोलामा आएको बाढीले घट्टसँगै बगाएर वेपत्ता पारेको थियो । आज बिहान इलाका प्रहरी कार्यालय कोल्टीबाट गएको प्रहरीको टोलीले उनको सय मिटर तल शव भेटाएर आफ्न्तकोमा जिम्मा लगाएको छ ।
मृतक भिमा दिउँसो घरको अरु काम गर्नुपर्ने भएकाले राति पिठो पिस्न भनेर घट्ट गएकी थिइन् ।
पानीसँगै आएको बाढीले वडा २ मा रहेको एउटा मिल पनि बगाएको छ भने, खोला छेउछाउमा रहेका खेतहरु पनि बगाएर क्षति गरेको छ । त्यस्तै सोही ठाउँमा रहेको बाधुँ मावि पनि उच्च जोखिममा रहेको इलाका प्रहरी कार्यालय कोल्टीका सई सेर बहादुर कुँवरले जानकारी दिएका छन् ।












