
काठमाडौं । काभ्रेको बनेपास्थित स्पाइनल कर्ड इन्जुरी अस्पतालमा २३ जनामा कोरोना पुष्टि भएको छ ।
बनेपा नगरपालिका–१३ मा रहेको उक्त अस्पतालमा संक्रमण देखिएकामा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी र सेवाग्राही समेत रहेको अस्पतालका निर्देशक हरि अधिकारीले बताए ।
उनका अनुसार कुल संक्रमितमध्ये नौ जना अस्पतालका सेवाग्राही हुन् भने बाँकी अस्पतालमा कार्यरत कर्मचारी र स्वास्थ्यकर्मी हुन् ।
अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना देखिएपछि अस्पतालका निर्देशकसहित कर्मचारी एवं स्वास्थ्यकर्मीहरू होम क्वारेन्टिनमा बसेका छन् । अहिले अस्पताल क्षेत्रमा वडा कार्यालयको सक्रियतामा आवतजावतमा कडाइ गरिएको बनेपा नगरपालिकाले जनाएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख डा। नरेन्द्रकुमार झाका अनुसार धुलिखेल अस्पतालमा १० जना र धुलिखेलका स्थानीय दुई जनामा पनि संक्रमण पुष्टि भएको छ।










