
काठमाडौं । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि काठमाडौं उपत्यकामा भदौ ४ गतेबाट निषेधाज्ञा जारी गरिएको छ । तेस्रोपटक थप गरेको निषेधाज्ञाको समय आज राति १२ बजेबाट सकिदैं ।
अब उपत्यकामा निषेधाज्ञा कस्तो गर्ने भन्ने बारेमा सरकारी निकायका प्रतिनिधिहरुबीच नै मतभेद देखिएको छ । मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका कोभिड–१९ जिल्ला क्राईसिस म्यानेजमेन्ट सेन्टर (डिसिसीएमसी) को बैठकले निषेधाज्ञा थप खुकुलो बनाउने र नाकामा सेना परिचालन गर्ने प्रस्ताव ल्याएको छ ।
डिसिसीएमसीको प्रस्ताव बारे तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी भने असन्तुष्ट देखिएका छन् । उनीहरुले उपत्यकामा संक्रमितको संख्या बढ्दै गएको भन्दै नाकामा सेना परिचालन गरेर मात्रै नहुँने बताएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल निषेधाज्ञा खोलिहाल्ने अवस्था नरहेको सुझाव प्रशासनलाई दिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय भने स्वास्थ्य सावधानी अपनाएर उद्योग र कलकारखाना तथा यातायात सुचारु गर्नुपर्ने पक्षमा छ । निषेधाज्ञका कारण दैनिक काम गरेर गुजारा गर्ने नागरिकहरुले खाना नपाएर भौंतारिरहेका छन् । उद्योग र कलकारखाना, बजार, सार्वजनिक यातायातलगायत क्षेत्रको रोजगारी नराम्ररी थलिएको छ ।
यसै कुरालाई मध्येनजर गर्दै हिजोको बैठकले निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय गरेको छ । यातायातका साधन जोर बिजोर गर्ने र सावधानी पनाएर उद्योग, कार्यालय पनि खोल्ने निर्णय मेयरहरुले गरेका छन् ।
उपत्यकामा निषेधाज्ञा कस्तो गर्ने र नाकामा सेना परिचालन गर्ने विषयमा आज टुंगो लाग्ने छ ।










