
धादिङ । धादिङको गजुरीमा आएको पहिरोका कारण सडक अवरुद्ध भएको छ । जिल्लाको गजुरी गाउँपालिका वडा नम्बर ५ मा गएराती देखि परेको अबिरल वर्षापछि आएको पहिरोले सडक अबरुद्ध गरेको हो । माथिबाट पहिरो खसेपछि बुधबार बिहान करिब ६ बजेदेखि यातायातका साधनहरु पूर्ण रुपमा बन्द भएका छन् ।
निरन्तर बगेको पहिरोका कारण २ पाङ्ग्रे सवारी साधन मोटरसाइकल र चारपाङ्ग्रे यात्रु वाहक बस र मालवाहक ट्रक लगायत बिरामी बोकेका एम्बुलेन्स पनि सडकमै रहेका छन्।
सवारी साधनहरुमा सयौं यात्रुहरु बिहानदेखि भोकभोकै रोडमै बस्न बाध्य भएका छन्। जंगलमा पहिरो गएका कारण पानी र खाने कुराहरु पनि केहि नपाएको यात्रुहरुले गुनासो गरेका छन् ।

सडक अवरुद्ध भएपछि धादिङको सल्यानटारबाट बिरामी बोकेर आउँदै गरेको बा ९ च ५२२ नम्बरको एम्बुलेन्स पनि बिच बाटोमै रोकिएको छ ।
एम्बुलेन्समा ६० बर्षीया महिलालाई उपचारका लागि काठमाडौं ल्याइदैछ । सडक अवरुद्ध भएपछि बिरामी आमा एम्बुलेन्समै बेहोस भएको धादिङको सल्यानटारका कुमार बुढाथोकीले अनमोलपोस्टलाई बताए ।
बुढाथोकीले आँखा भरि आशु पार्दै अनमोलपोस्टलाई भने, “आमा बिरामी भएर बेहोस हुनु भएको छ, उपचारका लागि लैजाँदैछौं तर, सडक अवरुद्ध भएर आमाको उपचार नै गर्न नपाइने होकी भन्ने पीर भइरहेको छ ।”

बुढाथोकीकी आमा घरमै एक्कासी ढलेर बेहोस भएपछि उपचारका लागि काठमाडौं ल्याउन लागिएको हो । सडक अवरुद्ध भएपछि अन्य ५ वटा एम्बुलेन्स पनि गजुरीमै रोकिएका रोकिएका छन् ।
अवरुछ सडक खुलाउन बिहानै देखि सडक विभाग, सुरक्षाकर्मी र ६ वटा डोजर स्काभेटर लागिरहेको गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले बताए। उनकाअनुसार बाटो पन्छाउने काम भइरहेकाले केही समयपछि बाटो सुचारु हुनेछ।











