नेपाल आइडल सिजन टु का विजेता रवि ओड लगायत नेपाल आइडलको टिम यतिबेला विदेश भ्रमणमा छ । आफ्नो पहिलो विदेश भ्रमण अन्र्तगत उनिहरुले जापानका प्रमुख शहरहरुमा आफ्नो प्रस्तुती दिइसकेका छन् ।
जापानका मुख्य ३ वटा शहरमा आयोजना भएको सांगितीक कार्यक्रममा नेपाल आइडल विजेता रवि लगायत फस्ट रनर अप बिक्रम बराल, सेकेण्ड रनर अप सुमित पाठक, थर्ड रनर अप अस्मिता अधिकारी र अन्तिम पाँचमा पर्न सफल अमित बरालले कार्यक्रममा आफ्नो दमदार प्रस्तुती दिए ।
पाँचै जनाका लागि यो पहिलो विदेश भ्रमण भएकाले उनिहरु निकै उत्साहित थिए । गत मंगलबार जापान पुगेको नेपाल आइडलको टिमले जापानको मुख्य तीन वटा शहरहरु फुकुओका, नागोया र जापानमा आफ्नो प्रस्तुती दिइसकेका छन ।
जसमा उनिहरुले विभिन्न गीतहरु प्रस्तुत गरेर जापानमा रहेका नेपालीहरुलाई मनोरंजन दिए । जापानमा रहेको नेपाल आइडल टिमको यो भ्रमण निकै टिममा रहेका सबैका लागि महत्वपुर्ण र अविस्मरणिय पक्कै हुनेछ, धेरै कोणबाट । नेपाल आइडलका फाइनलिष्ट पाँच जनामध्ये आइडल विजेता रविका लागि भने यो भ्रमण अझ बढि अविस्मरणिय बन्नेछ ।
उनका लागि यसअर्थमा अविस्मरणिय की, मातृ शोक जस्तो असैह्य पीडाका बीच रवि बाध्यता र अवसर दुबैसंग सम्झौता गर्दै जापान पुगेका हुन ।
हुन त साहशी, संघर्षशील र मेहनती कलाकारका रुपमा आफ्नो परिचय बनाइसकेका रवि आफैमा एक अब्बल पथ्थर भइसकेका छन ! जो विभिन्न खहरे, झरना, खोला र पहाडहरुमा ठोक्किदै ठोक्किदै अब्बल बनेर समुन्द्रमा पुग्दछ ।
जापान पुगिसकेपछि रवि आफ्ना साथीहरुसंग रमाउने कोशिस गरिरहेका छन । जापानस्थित आफ्ना शुभचिन्तक, दर्शक माझ उनि पीडाका बीच पनि मुस्कुराउदै कार्यक्रममा आफ्ना प्रस्तुती दिइरहेका छन । जसलाई दर्शकहरुले माया र साथ दिदै रमाइरहेका छन । उनको गायकी र संगीतप्रतीको लागाब देखेर सबैले प्रशंसा समेत गरिरहेका छन ।
सांगीतिक कार्यक्रमहरुवाहेक रविलाई साथीहरुले त्यहाँको रमणिय स्थानमा संगसंगै साथमा लिएर पीडा भुलाउने कोसिश गरिरहेका छन् । जुन तस्बिरहरुमा देख्न सकिन्छ ।
जापानमा पनि छोडेनन् रविले देउडा गाउन
रविले सबैखाले गीत गाउन सक्छन र त्यसमा पनि सुदूर तथा कर्णाली प्रदेशको लोक संगीत देउडालाई पनि उत्तिकै माया र कदर गर्दै आएका छन । नेपाल आइडलको प्रतिस्पर्धामा रहंदा पनि उनले देउडा गीत गाएका थिए, जसलाई दर्शकले मन पराएर सर्वाधिक भोट दिदै उत्कृष्ट बनाएका थिए ।
अहिले जापान टुरमा रहेका रविले त्यहाँ पनि लोक देउडा र देउडा फ्युजनका गीतहरु गाएका छन् जसमा त्यहाँका दर्शकहरु खुब रमाए ।
रविले आफ्नो पहिलो गीत कस्तो रेर्कड गराउलान ?
दोस्रो नेपाल आइडल बनिसकेपछि रविसंग काम गर्न अहिले धेरै म्युजिक कम्पनी, प्रोडुसर र संगीतप्रेमीहरु पर्खिरहेका छन् । तर, सुदूरपश्चिमको लोकसंगीतसंग लडिबुडी खेल्दै र तिनै गीतहरु गाएर लाखौं दर्शकहरुको मन जीति दोस्रे नेपाल आइडल बनेका रविले देउडा गीत रेकर्ड गर्लान की नगर्लान भन्ने धेरैको चासो पनि छ ।
उनका धेरै प्रशंसक देउडालाई माया गरिरहन आग्रह गर्छन । हुन त नेपाल आइडल बनिसकेपछि उनले सबैखाले गीत गाउनु पर्छ र सबैखाले दर्शक स्रोताको मन जित्नु पर्ने हुन्छ । तर, लोक देउडा उनका लागि एक संगीतको धरातल र सिडी हो । जुन उनले आफ्नो परिवारबाटै सिकेका हुन ।
संगीतको असली प्रतिस्पर्धा र परिक्षा बाँकी
नेपाल आइडल संगीतका सिकारु र संगीतलाई प्रेम गर्ने नव गायक गायिकाहरुका लागि प्रतिभालाई निखार्ने र तिर्खाने एक महत्वपुर्ण थलो मात्रै हो । त्यहाँ भाग लिने र जित्ने बित्तकै संगीतको महासागरमा सजिले पौडी खेल्दै आफुलाइ एक असल पौडीवाज बनाइहाल्ने भन्ने पक्कै होइन ।
त्यसले त झन संगीतको बजारमा थप चुनौती र परिक्षाहरु खडा गरिदिन्छ । त्यहि चुनौती र परिक्षाकाबीचबाट रवि ओडले आगामी दिनमा अगाडी बढ्नु पर्ने हुन्छ । जुन कुरा निकै कठिन छ भन्ने रविले पनि बुझेको हुनुपर्छ । सिङ्गीङ रियालिटी सो बाट उदाएकाहरुका लागि संगीतको बजारमा प्रतिस्पर्धा गर्न त्यति सजिलो पक्कै छैन । यद्यपी, मेहनत र लगनशिलहरुका लागि असम्भव भन्ने केहि छैन ।