(File photo)

बारा । बाराको सिम्रौनगढमा रासायनिक मलको विषयमा विवाद हुँदा दुई पक्षबीच झडप भएको छ ।
सिम्रौनगढ नगरपालिका वडा नं ४ को वडा कार्यालयमा लगाइएको तालाबन्दी खोल्ने विषयमा विवादले उग्र रुप लिँदा झडप भएको प्रहरीले जनाएको छ ।
वडा कार्यालयले पाएको रासायनिक मल वितरण गर्न मंसिर १५ गतेदेखि १८ गतेसम्म किसानलाई नागरिकतासहित आवेदन दिन माग गरेकोमा केही किसान १८ गते अपरान्ह मलका लागि आवेदन दिन पुग्दा वडा कार्यालय बन्द भएपछि विवाद सुरु भएको थियो ।
१८ गते अपरान्ह ४ बजेसम्म वडा कार्यालय खोल्नुपर्नेमा त्यसअघि नै बन्द गरेको भन्दै वडा कार्यालयमा तालाबन्दी गरिएको थिए । आज सोही तालाबन्दी खोल्न लाग्दा विवाद भई झडप हुन पुगेको वडा प्रहरी कार्यालय सिम्रौनगढले जनाएको छ । वडा कार्यालयमा दुवै पक्ष लाठीभाटा लिएर आएका कारण अवस्था तनावपूर्ण रहेको बताइएको छ ।










