
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले इसाई धर्मावलम्बीहरूको महानपर्व क्रिसमसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । उनले क्रिसमस डेको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।
उनले शुभकामना सन्देशमार्फत चाडपर्वलाई आफ्नो संस्कार र संस्कृतिको अभिव्यक्तिका रूपमा उत्साहपूर्वक मनाउँदा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूका बीच आपसी भाइचारा, सौहार्दता र राष्ट्रिय एकताको अभिवृद्धिमा मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।
प्रधानमन्त्री देउवाले संसारभर नै मानव समुदायले आफ्ना देवता र धर्म प्रवर्तकजस्ता महान् व्यक्तित्वहरूको जन्मदिनलाई व्यापक उत्साह र सद्भावका साथ मनाउने उल्लेख गर्दै डिसेम्बर २५ का दिन इसाई धर्मका प्रवर्तक जिसस क्राइस्ट अर्थात् प्रभु येशुको जन्मदिनलाई क्रिसमसका रूपमा विविध कार्यक्रमका साथ मनाउने प्रचलन रहेको जनाएका छन् ।
उनले यस पर्वले सबै नेपालीहरूबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै समृद्ध नेपाल निर्माणका लागि सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामनाका साथ क्रिसमस पर्वको शुभकामना व्यक्त गरेका छन् ।
इसाई धर्मावलम्बीहरूद्वारा जिसस क्राइस्टको जन्मदिनको अवसरमा हरेक वर्ष डिसेम्बर २५ तारिखको दिनलाई धार्मिक एवं सांस्कृतिक उत्सवका रूपमा विभिन्न कार्यक्रमको आयोजना गरी क्रिसमस डे मनाउने गरिएको छ ।











