मेयर बालेनले बागमती किनारका सुकुम्बासी हटाउन गृहमन्त्री रविको मागे साथ


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन गृह मन्त्रालयको सहयोग मागेका छन् । महानगरपालिकाले सुकुम्बासी बस्ती लगायत अनधिकृत संरचना हटाउन गृहमन्त्री रवि लामिछानेको सहयोग मागेका हुन् । मेयर बलेनले सुकुम्बासी बस्ती हटाउन खोज्दा असफल भएपछि गृहमन्त्रीको साथ मागेका हुन् ।

महानगरपालिकाले गृह मन्त्रालयलाई एक पत्र लेख्दै महानगर क्षेत्रभित्रका विभिन्न स्थानमा सार्वजनिक क्षेत्र अतिक्रमण गरी निर्माण भएका अनधिकृत संरचनाहरू हटाउने कार्य अभियानकै रुपमा अगाडि बढाउनुपर्ने भएकाले गृहको साथ आवश्यक रहेको जनाएको छ।
सुकुम्बासी बस्ती लगायत अनाधिकृत संरचना हटाउन सम्बन्धित जिल्ला प्रशासन तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन एवं समन्वय गमिेयर बालेनले गृहलाई अनुरोध गरेको छ ।

‘जसको लागि तहाँ मार्फत सम्बन्धित जिल्ला प्रशासन तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन एवं समन्वय हुन अनुरोध गरिन्छ, उल्लेखित अतिक्रमित क्षेत्र मध्ये थापाथलीस्थित बागमती नदी किनारमा अव्यवस्थित–अनधिकृत रुपमा रहेको संरचना हटाई सो क्षेत्रको संरक्षण एवं सौन्दर्यकरण गर्ने कार्य तत्काल अगाडि बढाउन बागमती सभ्यता एकीकृत विकास परियोजना समेतबाट अनुरोध भै आएको र सो क्षेत्र खाली गराउन महानगरबाट आवश्यक सबै समन्वय र प्रयास अगाडि बढाइएको भएतापनि सो सफल हुन सकेको अवस्था छैन । यसर्थ विशेष गरी थापाथलीस्थित उल्लेखित क्षेत्रमा रहेका अनधिकृत संरचना हटाइ तहाँ सौन्दर्यीकरणको कार्य तत्काल सुरु गर्ने कार्यक्रम रहेकोले सो संरचना हटाउन आवश्यक सहयोग एवं समन्वयका लागि अनुरोध छ,’ महानगरले गृहलाई लेखेको पत्रमा भनिएको छ ।

महानगरले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आवश्यक समन्वयको लागि समेत अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार