
पोखरा । पोखरामा हिजो भएको विमान दुर्घटनामा अझै चार जनाको अवस्था अज्ञात रहेको छ । विमानमा चालक दलका सहित ७२ यात्रुमध्ये हालसम्म ६८ जनाको शव भेटिएको छ भने ४ जनाको अवस्था अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। उनिहरुको खोजी कार्य तीव्र पारिएको छ ।
खोजी कार्यमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी खटिएका छन्। उद्धारमा खटिएका सुरक्षाकर्मीले हिजो साँझसम्म ६३ र आज बिहान ५ वटा शव बाहिर खोंचबाट बाहिर निकालेको जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक जिल्ला अधिकारी अनिल शाहीले बताए ।
हिजो बिहान काठमाडौंबाट पोखराका लागि उडेको यती एअरलाइन्सको विमान पुरानो पोखरा विमानस्थल पछाडिको सेती खोंचमा दुर्घटनामा भएको थियो ।
शवलाई पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । हालसम्म ३८ शवको सनाखत भइसकेको छ। सनाखत हुन नसकेका शवहरु काठमाडौं ल्याएर डीएनए परीक्षण गरिने अस्पतालले जनाएको छ ।












