चितवन । गाई काटेको आरोपमा चितवनमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–२१ जगतपुर, कृष्णचोकका रणबहादुर सार्की र विक्रम सार्कीलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले छिमेकीबाट गाई पाल्ने भन्दै किनेर लगेको तर काटेर खान थालेको भन्ने जानकारी आएपछि आफुहरुले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहले जानकारी दिए ।
उनका अनुसार उनीहरुबाट गाईको मासुसमेत बरामद गरिएको छ । घटनाबारे थप अनुसंन्धान भइरहेको र उनिहरुमाथी कानुनवमोजिक कारवाही पनि सुरु गरिएको प्रहरीको भनाई छ । नेपालमा विभिन्न जाति, समुदायले गाईलाई मासुका रुपमा पनि प्रयोग गर्दै आएको भएपनि नेपालको कानुनले त्यस्तो कार्यलाई दण्डनिय मानेको छ । संविधानमा गाईलाई राष्ट्रिय जनावरको रुपमा राखिएको छ ।
गाई काट्नेलाई कानुनमा कस्तो ब्यवस्था छ ?
नेपाल बहुभाषिक, बहुधार्मिक, बहुजातिय, बहुसांस्कृतीक मुलुक भएकाले यहाँ कतिपय कुराहरु विवादित बन्दै आएका छन । गाईकै संन्र्दभमा पनि नेपालका कतिपय जनजाती आदिवासी, दलित, मुस्लिमहरुले गाई गोरुलाई काटेर मासु खाने परम्परा पहिलेदेखि नै रहँदै आएको छ । विभिन्न सांस्कृतिक चाँडपर्वमा गाई गोरुको मासु प्रयोग गर्ने गरिन्छ ।
तर, नेपालमा गाई र गोरु काट्नु भनेको दण्डनिय कार्य पनि हो ।
नेपालको मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद २७ को २८९ दफामा गाई र गोरु काट्न, मार्न नपाइने ब्यवस्था गरेको । यदि कसैले त्यस्तो गरेको पाइएमा तीन वर्षसम्म कैद हुने व्यवस्था छ । अब यहि कानुनी ब्यवस्था अनुसार चितवनमा पक्राउ परेका दुईजनालाई कारवाही गरिने प्रहरीको भनाई छ ।