
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभर शोक बिदा दिएको छ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा हिजो निधन भएपछि सरकारले आज शोक बिदा दिएको हो ।
मन्त्री सिंहको शोकमा प्रदेशस्थित सरकारी कार्यालयका झण्डा आधा झुकाइएको छ । मंगलबार धनगढीबाट गृह जिल्ला बझाङ गइरहेका बेला केदारस्यूँ गाउँपालिकामा मन्त्री सिंह सवार गाडी दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो । सिंहकी पत्नी अमृता र भाउजू जयादेवी सिंहको भने घटनास्थलमै निधन भएको थियो ।
दुर्घटनामा परी घाइते भएका चालक धर्मराज जोशी र निजी सुरक्षा गार्ड दीपक भण्डारीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।
मन्त्री सिंहको निधनमा सुदूरपश्चिम प्रदेश शोकमा छ ।










