परीक्षा स्थगित भएको विषयमा प्रदेश २ मा, शिक्षामन्त्रीको पुत्ला जलाइयो, राज्यमन्त्रीको गाडी तोडफोड

काठमाडौं । प्रदेश २ मा परिक्षा स्थगित भएको विषयलाई लिएर विद्यार्थीले ठाउँ ठाउँमा प्रदर्शन गरिरहेका छन् । लगातार  प्रश्नपत्र आउट हुँदा परीक्षा नै स्थगित गरिएपछि आक्रोशित परीक्षार्थीहरुले बिभिन्न ठाउँमा प्रदर्शन गरेका हुन् । जनकपुरधाममा बिज्ञान र सामाजिक विषयको प्रश्नपत्र आउट भएपछि यी दुवै विषयको परीक्षा रद्द गरिएको थियो ।

शनिबार हुने स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको समेत प्रश्नपत्र एक दिन अगावै बाहिरिएपछि शिक्षा मन्त्रालयले प्रदेश २ को एसईई परीक्षा स्थगित गरेपछि विद्यार्थी आन्दोलित भएका छन् ।

विद्यार्थीहरुले सप्तरीमा बिहानैदेखि प्रदर्शन गर्दै पूर्वपश्चिम राजमार्गमा चक्काजाम समेत गरेका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको खड्ग नगरपालिकास्थित कल्याणपुर र खरचुहियामा चक्काजाम गर्दा सयौं सवारी साधन रोकिँदा हजारौं यात्रु अलपत्र परेका छन् ।

आक्रोशित परीक्षार्थीहरुले सप्तरी सदरमुकाम राजविराजमा संघीय शिक्षा मन्त्री गिरिराजमणी पोखरेलको पुत्ला जलाएका छन् । शिक्षा मन्त्रीले राजिनामा दिनुपर्ने मुख्य माग राख्दै उनीहरुले पुत्ला जलाएका हुन् ।

राजविराजबाट पनि विद्यार्थीहरुले सवारी चल्न दिएका छैनन् । ठाउँ,ठाउँमा टायर बालिएका कारण लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेको छैनन् ।

त्यसैगरी परीक्षार्थीले प्रदेश २ सरकारका राज्यमन्त्री चढेको गाडीमा तोडफोड गरेका छन् । धनुषाको सपहीमा प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्रराय यादव चढेको गाडीमा ढुंगामुडा गरिएको छ । ढुंगामुढाबाट राज्यमन्त्री यादव चढेको गाडीको सिसा फुटेको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ ।

जनकपुरधामको पनि बिभिन्न चोकमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । चोकहरुमा टायर बालेर उनीहरुले प्रदर्शन गर्दै शिक्षा मन्त्रीबिरुद्ध नाराबाजी गरेका छन् ।

एसईई परीक्षा स्थगित गरिएपछि बाराका विद्यार्थी पनि आन्दोलनमा उत्रेका छन् । आन्दोलनमा उत्रेका विद्यार्थीले तोडफोड गर्न खोज्दा प्रहरीसँग झडप पनि भएको छ । झडपमा एक प्रहरी जवान र केही विद्यार्थीहरु घाइते भएका छन् ।

प्रश्नपत्र आउट गरेर लगातार परिक्षा स्थगित भएपछि विद्यार्थीहरु आका्रेशित भएका छन् । विद्यार्थीको आन्दोलनका कारण विहानै देखि तराईका बारा, पर्सा जनकपुर, धनुषा लगाएतका जिल्लामा यातायातका साधान पनि चल्न सकेका छैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार