काठमाडौं । सर्वोच्च अदालतले वहुचर्चित ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईमाथि मुद्दा नचलाउनुको कारण माग गरेको छ ।
आज सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासले सरकारसँग ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल, डा.बाबुराम भट्टराई र पूर्वमुख्यसचिव लिलामणि पोखरेललाई मुद्दा नचलाउनुको कारण माग गरेको हो।
सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरिएको ठगी प्रकरणमा मुद्दा नचलाउनुको कारण न्यायाधीश शर्माको इजलासले माग गरेको छ ।
वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, महान्यायाधिवक्ता कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराई लगायतसँग १५ दिनभित्र मुद्दा नचलाउनुको कारण लिखित रुपमा पेस गर्न भनि आदेश गरेको छ ।
ललिता निवास जग्गा प्रकरणमा सीआईबीले अनुसंन्धान गरेर गत महिना पूर्वमन्त्रि, सचिव लगायतमाथि मुद्दा दर्ता गरेको थियो । तर सरकारी जग्गा खरिद कार्यमा तात्कालिन मन्त्रिपरिषदबाट भएका निर्णयहरुले पनि प्रधानमन्त्रीद्वय नेपाल र भट्टाराईमाथि पनि अनुसंन्धान गरि मुद्दा दर्ता गर्नुपर्ने अधिवक्ता न्यौपानेको माग छ ।
वरिष्ठ अधिवक्ता न्यौपानेले चार वर्षअघि पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई पनि भ्रष्टाचारमुद्दा चलाउनुपर्ने भनी सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।