काठमाडौं । द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपाली विधार्थीलाई सरकारले नेपाल वायु सेवा निगमको जहाज पठाउने भएको छ । प्रधानमन्त्री प्रचण्डले आज बिहान पर्यटनमन्त्री सुदन किराती, नागरिक उड्यन प्राधिकरण र निगमका प्रमुखहरुलाई बोलाएर इजरायलबाट नेपाली विधार्थी ल्याउन तत्काल जहाज पठाउने व्यव्था गर्न निर्देशन दिएपछि आजराती ११ बजे नेपाल एयरलाइन्सको जहाज त्यसतर्फ जाने भएको हो ।
परराष्ट्रमन्त्री एनपी साउदको सचिवालयका आज राति ११ बजे त्रिभुवन विमानस्थलबाट दुबई ट्रान्जिट बनाएर नेपाल एयरलाइन्सको जहाज इजरायल जाने छ ।
द्वन्द्वग्रस्त इजरायलको सामान्य अवस्था नभएकोले चार्टर विमान उडान र अवतरणको अनुमति लिनुपर्ने भएकाले केहि ढिला भएको सरकारको भनाई छ । नेपाल सरकारलाई इजरायलले नेपाली नागरिकको उद्धारका लागि आउने जहाजलाई स्वीकृति दिइसकेको छ।
गत शनिबार बिहानै प्यालेष्टिनी आतंककारी समूह हमासले इजरालमा भिषण आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने ४ जना घाइते भएका थिए । इजरायलबाट नेपाल फर्किन चाहने ३ सय ५० जनाले त्यहाँस्थित नेपाली दूतावासलाई विवरण टिपाएका छन् । मृतक दश जना र फर्किन नाम टिपाएकाहरुलाई नेपाल एयरलाइन्सको जहाजले उद्धार गरेर नेपाल ल्याउने छ ।