काठमाडौं । गैरआवासीय नेपालीलाई आजदेखि नेपाली नागरिकता पाउने भएका छन् । आजबाट काठमाडौंमा सुरु हुन लागेको गैरआवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनएको) ११औँ विश्व सम्मेलनको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता वितरण सुरू गर्न लागेका हुन्।
सम्मेलनको अवसर पारेर पहिलो पटक गैरआवासीय नेपालीले नागरिकता पाउन लागेको गैरआवासी नेपाली संघ ९एनआरएनए० का अध्यक्ष कुल आचार्यले बताए ।
गत जेठमा प्रचण्ड नेतृत्वको सरकारले नागरिकता सम्बन्धी विधेयक पास गरेपछि गैरआवासीय नेपालीले नागरिकता पाउने बाटो खुलेको थियो । नागरिकता प्राप्त गरेपछि उनीहरूले ईश्वर, देश र जनताको नाममा शपथ लिनुपर्ने छ। गत जेठ १७ गते सरकारले नागरिकता ऐनमा गैरआवासीय नेपालीले नागरिकता पाउन सक्नेगरी संशोधन गरेको थियो।
गैरआवासीय नेपालीले नेपाली नागरिकता लिनका लागि निवेदक व्यक्ति वा उनका आमा–बुवा, हजुरबुवा–हजुरआमा साविकमा नेपालको नागरिक रहेको प्रमाण पेस गर्नुपर्ने छ। विगतमा नेपाली नागरिकता लिएको भए त्यो त्याग गरेको प्रमाण, विदेशी मुलुकको नागरिकता भएको प्रमाण पनि आवश्यक पर्ने नेपाल नागरिकता नियमावली तेस्रो संशोधन उल्लेख छ ।
गैर आवासीय नेपालीले नेपाली नागरिकता पाएपछि उनिहरुले नेपालमा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने छन्। तर उनिहरुलाई राजनीति गर्न, सरकारी पदमा बस्न र भोट हाल्न भने अधिकार हुने छैन् ।