सोलुखुम्बु । सोलुखुम्बुमा हिमताल फुटेर आएको बाढीले १४ घर बगाउँदा लाखौंको क्षति भएको छ ।
जिल्लाको खुम्बु पासाङ ल्यहामु गाउँपालिका ५ स्थित खुम्बु थामे क्षेत्रमा हिमताल फुटेर आएको बाढीले १४ घर बगाएको प्रहरीले जनाएको छ । आज दिउँसो २ तीर लेदोसहित आएको बाढीबाट एउटा विद्यालय, ३ वटा क्लिनिकसहित १४ वटा घरहरुमा पूर्णरुप क्षति भएको सोलुखुम्बुको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताए । उनकाअनुसार ७ वटा घर उच्च जोखिममा छन् ।
बाढि प्रभावित क्षेत्रमा नेपाली सेनासहितको टोली पुगेर उद्धार र जोखिम क्षेत्रका सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्ने काम गरिरहेको प्रजिअ खत्रीले बताइन् । जल तथा मौसम विज्ञान विभागले पनि दूधकोशी नदी आसपासमा जोखिम बढेको भन्दै उच्च सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।