भारतको ओडिशामा तुफानको भय, पूर्वी नेपालमा पनि खतरा

काठमाडौँ । भारतको ओडिशा र आसपासका क्षेत्रमा तुफान आउन सक्ने भएकाले सतर्कता अपनाइएको छ । फनी चक्रवाती तुफानको पूर्वानुमानले त्यस क्षेत्रमा सतर्कता अपनाइएको हो ।

भारतमा खतारा देखिएको तुफानको असर पूर्वी नेपालमा पनि पर्न सक्ने मौसम विद्ले बताएका छन् । शुक्रवार र शनिवार नेपालको मध्य र पूर्वी नेपालमा असर देखिने भएकाले सतर्क रहन तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मध्य तथा पूर्वी नेपालमा शुक्रवार र शनिवार हावाहुरी र पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए । पूर्वी नेपालको हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ भने बाँकी क्षेत्रमा पानी पर्नेछ ।

भारतमा रेल सेवा बन्द

फनी चक्रवाती तुफानका कारण भारतमा १ सय ३ रेल सेवा रद्द गरिएको छ । भारतीय सेना र नेशनल डिजास्टर रेस्पोन्स फोर्स तयारी अवस्थामा राखिएको छ । तुफानका कारण सबैभन्दा धेरै प्रभावित हुने मानिएको ओडिशा र आन्ध्र प्रदेशमा पूर्व सूचना जारी गरेर नागरिकलाई सुरक्षित रहन आग्रह गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

चक्रवाती तुफान विहिबार बेलुकीदेखि ओडिशाको पुरीमा आउन सुरु गर्ने बताइएको छ । भोलि सबैभन्दा ठुलो असर पर्ने भएकाले तटीय क्षेत्रमा सुरक्षाकर्मी र तट रक्षकलाई राखिएको छ । नेशनल डिजास्टर रेस्पोन्स फोर्सले पूर्व तयारी गरिसकेको छ ।

भारतमा २० वर्षपछिको ठुलो तुफान

भारतमा यस अघिपनि ठुलो तुफान आएको थियो । सन् १९९९को सुपर साइक्लोनपछि यो फनी सबैभन्दा खतरनाक चक्रवाती तुफान हुनसक्ने पूर्वानुमान गरिएको छ । हावाको गति प्रतिघण्टा १ सय ७५ किलोमिटर हुनेछ । भारतीय मौसम विज्ञान विभागले बंगालको खाडीमा चक्रवाती तुफान सुरु भैसकेको जनाएको छ ।

अहिले ओडिशाका सबै विद्यालय बन्द गरिएका छन् । त्यहाँका बढी प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा राखिएको छ । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी अन्य निकायलाई आपतकालिन सहयोगका लागि तयार पारिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार