यौनसम्पर्क र वीर्य स्खलन

समस्या – मेरो उमेर ३२ वर्ष तथा श्रीमतीको उमेर २६ वर्ष छ । हामीले कुनै औषधी सेवन गरेका छैनौं । जागिरका कारण हामीबीच शुक्रबार र शनिबार मात्र शारीरिक सम्बन्ध हुन्छ । हामीले सहवासका क्रममा कुनै सावधानी अपनाएका छैनौं । हामीले ८ महिनाअघि विवाह गरेका हौं । हामी दुवै आफ्नो शारीरिक सम्बन्धवाट सन्तुष्ट छौं र हामीले चाँडै नै सन्तानको अपेक्षा गरेका छौं । मेरो वीर्य उनको योनिमा झरेको अनुभव हुँदैन र सधैं सेक्सपछि हस्तमैथुन गरेर वीर्य उनको योनिमा राख्नुपरेको छ अनि मात्र सम्पूर्ण सन्तुष्टि भएको अनुभव हुन्छ । यस्तो किन भएको हो ? म यौनसम्पर्कका बेला नै वीर्य (योनिमा) राखेर सम्पूर्ण सन्तुष्टि अनुभव गर्न चाहन्छु । हामीले सन्तान प्राप्तिका लागि के गर्नुपर्ला ? 

समाधान – डा. राजेन्द्र भद्रा बाट,

-पुरुषहरूले आफ्नो जीवनमा वीर्य स्खलनसम्बन्धी अनेक समस्या झेल्छन् । धेरैमा हुने शीघ्र वीर्य स्खलनका बारेमा त तपाईंले सुन्नुभएकै होला, तर कसैमा भने वीर्य स्खलन ढिलो वा नहुने समस्या हुन्छ । तपाईंले आफ्नो सन्देशमा लेख्नुभएको सीमित जानकारीअनुसार ठयाक्कै भन्न नसकिए पनि तपाईंको समस्या Delayed Ejaculation अर्थात् वीर्य स्खलन ढिला हुने समस्या हो जस्तो बुझिन्छ । यस्तो समस्यालाई retarded ejaculationअथवा inhibited ejaculation पनि भनिन्छ । यौनेच्छा र यौन उत्तेजना राम्रै भए पनि पुरुषमा चरमसुख प्राप्त गर्न समस्या हुने देखिन्छ । लिङ्गको उत्तेजना पनि राम्रै हुन्छ ।

योनिमा लिङ्ग प्रवेशपछि कतिपय पुरुष ३०–४० मिनेटसम्म निरन्तर धक्का दिँदा पनि चरमसुख वा वीर्य स्खलनको स्थितिसम्म पुग्न सक्दैनन् । यदि यौनसम्पर्कका बेला कुनै निश्चित परिस्थितिमा नै भए पनि, गाह्रो भए पनि यौन चरमसुख प्राप्त हुन्छ भने त्यसलाई हल्का (mild) प्रकारको भनिन्छ भने यौनसम्पर्क गर्दा भने वीर्य स्खलन गर्न सक्दैन, तर मुखमैथुन वा हस्तमैथुन गर्दा भने वीर्य स्खलन हुन्छ भने त्यस्तो स्थितिलाई मध्यम (moderate) प्रकारको भनिन्छ । त्यसैगरी एक्लै भएको स्थितिमा मात्र वीर्य स्खलन गर्न सक्ने स्थिति भए त्यसलाई कडा (severe) प्रकार तथा वीर्य स्खलन नै गर्न नसक्ने स्थिति भए त्यसलाई अति कडा (most severe) प्रकार भनिन्छ । तपाईंको समस्यालाई मध्यम प्रकारको समस्याका रूपमा  बुझ्न सकिन्छ ।

कारण के होला ? 

अण्डकोषको कार्य सम्पादनमा भएको खराबी, थाइराइड ग्रन्थिमा भएको खराबी, पिटयुटरी ग्रन्थिसम्बन्धी खराबी तथा कटी प्रदेशमा गरिएको शल्यक्रिया वा चोटका कारण स्नायुमा क्षति पुगेको छ भने पनि यस्तो समस्या हुन सक्छ । सन्देशमा तपाईंले आफूलाई अन्य केही खराबी नभएको संकेत गर्नुभए पनि तपाईंलाई नै यस विषयमा पक्का जानकारी होला । कतिपय मानसिक रोग वा उच्च रक्तचापका लागि प्रयोग हुने औषधी पनि यस्तो स्थितिको कारण हुनसक्छ ।

त्यसबाहेक यौनसम्बन्धी नकारात्मक सोच, यौन साथीप्रति पर्याप्त यौन आकर्षण नहुनु वा समाजमा बर्जित किसिमको यौनसम्पर्कमा संलग्न भएका बेला समातिएको स्थिति, यौनशोषण भएको स्थिति अनि चिन्ताजस्ता कतिपय मानसिक स्थितिले पनि यस्तो समस्या सिर्जना गर्न सक्छ । अत्यधिक रक्सीको सेवनका कारण पनि वीर्य स्खलनमा समस्या सिर्जना हुन सक्छ ।

समाधानका लागि 

समस्याको कारण हेरी समाधान गर्नुपर्छ भन्नु त आवश्यक भएन । माथि भनिएजस्ता औषधी आदि प्रयोग गरिएको छ भने त्यसको सट्टा चिकित्सकको सल्लाहमा वैकल्पिक औषधी सेवन गर्नेतर्फ ध्यान पुर्‍याउनुपर्छ ।

तपाईंको जस्तो समस्या भएको स्थितिमा कभह तजभचबउथ एक प्रमुख उपचार विधि हो । यसको मुख्य उद्देश्य लिङ्ग पसाएर गरिने यौनसम्पर्कबाट नै चरमसुख प्राप्त गराउनु हो । यस्तो यौनसम्पर्कमा अभ्यस्त नभएको परिस्थितिमा यो परिवर्तनका लागि समय भने लाग्छ । पहिलो चरणमा आफ्नो यौनसाथीसामु हस्तमैथुन गरेर चरमसुख प्राप्त गर्ने तथा वीर्य स्खलन गर्ने । अर्को चरणमा पुरुषले आफ्नो हातले नभै आफ्नो यौन साथीको हात प्रयोग गरेर हस्तमैथुन गर्ने ।

अन्तिम चरणमा भने यसरी उत्तेजित गराउँदै वीर्य स्खलन होला जस्तो भएपछि योनिमा लिङ्ग पसाई वीर्य स्खलन गर्न लगाउने । यसरी बिस्तारै अभ्यास गर्दै योनिभित्रै वीर्य स्खलन गराउने तथा यौन चरमसुख प्राप्त गर्ने उपाय सिक्दै, अभ्यास गर्दै जाने । अति कडा किसिमको ढिलो वीर्य स्खलनको समस्या हुनेहरूले मूत्ररोग विशेषज्ञवाट समस्या निदान गरी उपचार गराउनुपर्छ ।

सन्तान जन्माउन 

गर्भ रहन शुक्रकीट र डिम्बको मिलन हुनुपर्छ । महिलाको डिम्ब महिनाको एकपटक मात्र निष्कासन हुन्छ । शुक्रकीटसँग मिलन हुन डिम्ब निस्किएको समय हुनु जरुरी छ । डिम्ब निष्कासन हुने समय नजिक गर्भ रहने सम्भावना बढी हुन्छ । डिम्ब निस्किएको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ । साभार -कान्तीपुर साप्ताहिक

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार