चितवन । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा डोजर चलाउनेहरु नै अब रंगशाला निर्माणका लागि दश करोड सहयोग गर्ने भएका छन् ।
डोजरकाण्डमा पक्राउपरि रिहा भएका प्रकाश कँडेल लगायतका ब्यक्तीहरुले मंगलबार चितवनमा पत्रकार सम्मेलन गर्दै रंगशाला निर्माणका लागि १० करोड रुपैयाँ संकलनगरी धुर्मुस सुन्तली फाउण्डेशनलाई हस्तान्तरण गर्ने बताएका हुन ।
पत्रकार सम्मेलनमा डोजरकाण्डमा मुछिएका कँडेलले भने, “हामीहरुलाई रंगशाला निर्माणको बिरोधीका रुपमा नलिनुहोस, हामी त्यसको बिरोधी होईनौं, रंगशाला निर्माणका लागि आफूहरु सक्दो सहयोग गर्न तयार छौं । तर, रंगशाला अन्तराष्ट्रियस्तरको भएकाले बाटोघाटोदेखि सबै पुर्वाधार त्यहि अनरुप हुनुपर्यो भन्ने हाम्रो भनाई हो ।”
पत्रकार सम्मेलनमा रंगशाला निर्माणमा सबै एकजुट भएर लाग्नका लागि धुर्मुस सुन्तली फाउण्डेशन, भरतपुर महानगरपालिका, राजनीतिक दल, जनप्रतिनिधिहरुको साझा संकल्प तयार गर्नेगरी सबैपक्षसंग छलफल भइरहेको समेत जानकारी दिइयो ।
उनिहरुले कुनै पनि हालतमा भरतपुर १५ मै रंगशाला निर्माण हुनुपर्नेमा जोड समेत दिएका छन् ।
“रंगशालाको बारमा डोजर लगाउनु हाम्रो गल्ती थियो कँडेलले भने, जुन गल्ती हामीले स्विकार गरेका छौं र, आगामी दिनमा रंगशाला निर्माणका लागि सबै प्रकारका सहयोग गर्न तयार छौं ।”
नेपालीहरुको गास कटाएर रंगशाला निर्माणका लागि सहयोग आइरहेकाले त्यसको एक एक हिसाबकिताव पारदर्शी हुनुपर्ने समेत कँडेलको भनाई छ ।