यो पहिचान नि गजब!
कसैलाई यस्मा कालो बादल लगाउनुपर्ने
जसरी नि लुकाउनुपर्ने
बिना अनुमती टांसिएको पहिचानले
जसलाई सास्ती खेप्नुपर्छ
उसलाई दुखेकोछ पहिचान
कसैलाई झ्याली पिटीपिटी सुनाउनुपर्ने
बुद्ध जन्मेको देश नेपाल हो भने झैं
सगरमाथाको देश नेपाल हो भने झैं
कति गौरव र उच्चता बोध पहिचानमा
लुकाउनुपर्नेले नलुकाएर के गर्ने त !
सही बोले दु:ख पाउनु सम्म पाउने
भुस्याहा कुकुर लखेटिए झै लखेटिनु पर्ने
सही बोलेर विधायकले डेरा पाएनन
जन्मजात पहिचान घाँडो साबित हुन्छ
सही बोलेर विद्यार्थीले डेरा पाएनन
सही बोलेर कर्मचारीले डेरा पाएनन
जसले डेरा पाएन
डेरा पाउन पहिचान लुकाउदा
त्यस्तालाई ढांट्यो भनियो
लुकायो या ढांट्यो
ढांट्नु र लुकाउनु को बाध्यता र पीडा
कसैले महशूस गरिदिएन
डेराबाट खेदिदा
रेटियो स्वाभिमान हलाल गरिएको पशु झैं
विरानो भैइयो
नागरिकता छ,
अनागरिक भैइयो
आफ्नै देशमा
संविधानमा प्रावधान छ
समानता स्वतंत्रता र सार्वभौमिकताको
कुनै पहिचानवालालाई हाईमजा छ
कुनै पहिचानवालाई संविधानका धाराहरु
सुकेकाछन जेठ महिनाको सुनधारा झैं
दशैंको टीका झै यदि ट्ल्कियो भने पहिचान
कसैको अपार सम्मान
कसैको बेहिसाब अपमान
जसलाई मिलिरहेकोछ उच्च श्रेणी
पित्तललाई झैं चुकले मस्काएर टल्काईरा’छ्न
जन्मजात मिलेको पहिचान
जुन विना पसिना बिना परिश्रम मिलेकोछ
जसलाई पीडा दिएको छ पहिचानले
भालुको कन्चट समाए झैं भएकोछ
उसले लुकाउन पाउनुपर्छ
उसले ढाट्न पाउनुपर्छ
लुकाउन दिनुहोस
ढाट्न दिनुहोस
खत बात गर्नेलाई
जुत्ताको माला लगाईए जस्तो पहिचान
अनुहारमा कालो मुसो दलिए जस्तो पहिचान
खेदिदा डेराबाट
निषेधित हुदा मंदिरमा
ढल्छ स्वाभिमान
टेबुलबाट खसेको कांचको बोतल झै
झर्याम झुरुम अस्स्तित्व समाप्त हुने गरि
मुक्ती दे सरकार यो पहिचानबाट!
मुक्ती खोज्नेलाई
अपमान सहनुपर्ने लाईसेन्स भएकोछ
यो पहिचान
नेपाली नागरिक हुनुभन्दा बढी या कम
किन बाड्च्छौ पहिचान सरकार!
यो समाज पनि किन टास्छ निधारमा
नचाहिएको
नमागेको
नखोजेको
नरोजेको घातक पहिचान
बन्दुकको गोलि जस्तो ठहरै पार्ने
निस्ठुरी निर्दयी पहिचान
भो चाहिन्न
यो दुखाउने
रुवाउने
जिउदै मार्ने पहिचान
खोसे हुन्छ
फटाह जालीले निमुखाको घरबार खोसे झैं
यो मान्छे हुन नदिने पहिचान
खोसिदा कसम म मुद्दा हाल्ने छैन