कविता : ‘आउ कुइरे दाजु भाउजु, मेरो गाँउ आउ’

कर्णाली पारीको नेपाल
साँच्चिकै अद्भुत सुन्दरता,
अद्भुत कला, संस्कृति
अद्भुत छाउपडी अनि छुवाछूत,
र पनि आउ कुइरे दाजु भाउजु
मेरो गाँउ आउ, यि सबथोक हेरेर जाउ ।

आहा…खप्तड जत्तिकै मन लोभ्याउने
कला छ, अछामी दिदीसंग
पर…छाउगोठमा बसी
कनपरामा हात राख्दै, देउडा गाँउछिन्,
त्यसैले आउ कुइरे दाजु भाउजु
मेरो गाँउ आउ, यि सबथोक हेरेर जाउ ।

रताम्मे गुँरासको बन हुँदै जाँउला,
हरिण र मृगको बास्ना लिँदै,
“दिस इज् आवर ब्युटिफुल” भन्दै
मेरो गाँउ प्रवेश गराउनेछु ।

बाटो पर…, रहेको सानो
छाउगोठबाट, हेरिरहेकी झुमा दिदि
अनि धारामा, अर्कैको हातबाट पानी थाप्दै गरेका
काले कामी दाजु देखाउँदै भनौंला,
“द्याट इज् आवर प्राउड”
त्यसैले आउ कुइरे दाजु भाउजु
मेरो गाँउ आउ, यि सबथोक हेरेर जाउ ।

थारुको सखिया, होली
पहाडीको गौरा, भुवा, देउडा
र सरकारले अरबौं सकेर बनाएका मन्दिर
मात्रै होइनन्,
निर्मलाहरुका तड्पिरहेका आत्माहरु हेर्न,
आउ कुइरे दाजु भाउजु
मेरो गाँउ आउ, यि सबथोक हेरेर जाउ ।।

(कविबाट- नेपाल भ्रमण बर्ष २०२० लाई मध्यनजर गर्दै लेखिएको कविता थियो । तर, अहिले विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण सरकारको यो कार्यक्रम प्रभावित हुन पुग्यो । पयर्टकलाई देखाउन हाम्रा संस्कृतीहरु पनि सुन्दर हुन आवश्यक छ ।)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार