
काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले लिपुलेक, कालापनी र लिम्पियाधुराका बिषयमा मनलाग्दी नबोल्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् । मंगलबार सबेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले सीमा जस्तो संवेदनशील विषयमा बोल्दा तथ्य, तथ्यांक र प्रमाणका आधारमा मात्रै बोल्न मन्त्रीहरुलाई निर्देशन दिएको बैठकमा सहभागी एक मन्त्री बताएका छन् ।
भूमिसुधार मन्त्री पद्मा अर्यालले सोमबारको संसदीय समितिको बैठकमा लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको नक्सामा कहिल्यै नभएको भन्ने अभिब्यक्ति दिएपछि उनि विवादित भनेकी छन् । उनको उक्त अभिब्यक्तिको बैठकमा सहभागि नेकपाका सांसद भीम रावलले कडारुपमा विरोध गरेका थिए । विवादित बनेपछि मन्त्री अर्यालले आफुले त्यस्तो नभनेको भन्दै बचाउ गरिरहेकी छिन् ।
प्रधानमन्त्री ओलीले लिपुलेक, कालापानी लगायतको बिषयमा सडकमा बुरुक्क -बुरुक्क उफ्रिएर समस्या समाधान नहुने समेत बताएका छन् ।
आवेशमा आएर सडकमा चर्का नारा लगाउँदैमा समस्या समाधान नहुने भन्दै उनले भारतसँग वार्ताद्धारा नै समस्या हल गर्नमा आफु लागि परेको प्रष्ट पारेका छन् ।
शुक्रबार भारतले नेपाली भूमी लिपुलेकबाट तिब्ब्तको मानसरोवर जाने सडकको उद्घाटन गरेपछि यो समस्या अहिले गम्भिररुपमा सरकार सामु आएको छ ।
भारतले सडक उद्घाटन गरेकै अर्को दिन परराष्ट्र मन्त्रालयद्धारा उक्त कदमप्रती आपत्ती जनाउँदै नेपाली भूमीमा भइरहेका गतिविधी तत्काल रोक्न भारतलाई आग्रह गरेको थियो । यस बिषयमा परराष्ट्रमन्त्री प्रदिप ज्ञावालीले भारतिय राजदूतलाई सोमबार मन्त्रालयमा बोलाएर कुटनीतिक नोट हस्तान्तरण गरेका थिए ।
तर, भारतले मानसरोवर जाने सडक आफ्नै भूमिमा बनाएको दावी गर्दै आएको छ । भारतले नेपाली भूमी लिपुलेक, कालापानी र लिम्पियाधुरालाई आफ्नो नयां नक्सामा गाभेकै समयदेखि नेपालमा त्यसको चर्को विरोध हुँदै आएको छ ।
लिपुलेक– मानसरोवर सडक उद्घाटन भएदेखि अहिले दिनहुँ काठमाडौं लगायत देशभर भारत विरोधी प्रर्दशन भइरहेका छन् ।









