
नेपालगञ्ज । भारतका विभिन्न ठाउँको क्वारेन्टाइनमा रहेका करीब पाँच सय जनालाई नेपाल ल्याइएको छ । नेपालगञ्जको जमुनाहा नाकाबाट उनीहरुलाई नेपाल ल्याइएको हो ।
सीमा नाका नजिकै भारतको बहराइच र आसपासका क्वारेन्टाइनमा रहेका नेपालीलाई पहिलो चरणमा ल्याइएको नेपालगञ्ज प्रशासनले जनाएको छ। करीब पाँच सय जनाको जमुनाहा नाकाबाट नाम र ठेगाना सहित कोरोना परीक्षण गरेर सम्बन्धित जिल्लामा पठाउने कार्य भइरहेको छ।
नेपाल ल्याइएका उनीहरुको स्वास्थ्य परीक्षणका लागि नेपाली सेनाले सीमानाका जमुनाहमा पाल टाँगेर अस्थायी जाँच कक्ष तयार गरेको छ। आजै यहाँका विभिन्न क्वारेन्टाइनमा रहेका भारतीयलाई पनि भारततर्फ पठाइएको छ।
कोरोना परीक्षणपछि नेगेटिभ आएका सबैलाई केही समय क्वारेन्टाइनमा बस्ने सर्तमा सम्बन्धित स्थानीय तहको जिम्मा लगाइने बताइएको छ ।








