
बर्दिया । क्वारेन्टाइनबाट घर फर्किएकै दिन बर्दियामा एकजनाको मृत्यु भएको छ । जिल्लाको बारबर्दिया नगरपालिका–३ का ४५ वर्षीय एक जनाको क्वारेन्टाइनबाट घर फर्किएकै दिन बिहीबार मृत्यु भएको हो । आरडीटी परीक्षणमा रिर्पोट नेगेटिभ आएपछि उनलाई बिहीबार घर पठाइएको थियो ।
घर फर्किएका उनलाई राति नै पेट दुख्न थालेपछि बर्दिया अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताए । मृतकको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरी नेपालगन्जस्थित भेरी अस्पताल पठाइएको छ ।
गत जेठ २२ गते काठमाडौंबाट घर फर्किएका उनलाई वडा नम्बर–३ खुरखुरेस्थित बाल विकास केन्द्रको क्वारेन्टाइनमा राखिएको थियो । १४ दिनसम्म स्थानीय क्वारेन्टाइनमा बसेपछि बिहीबार आरडिटी परीक्षण गरिएको थियो ।









