
पोखरा । पोखरामा पहिरोमा परेर ३ जनाको मृत्यु भएको छ भने १ बालक बेपत्ता भएका छन् । पहिरोमा परेर ५ जना घाइते भएका छन ।
बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोले घर पुरिँदा पोखरा–२० भलामका ४५ वर्षीय कृष्ण श्रेष्ठ, उनकी ३५ वर्षीया श्रीमती सुनमायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। पहिरोमा परेर कृष्णका ३ वर्षिय छोरा सन्तोष बेपत्ता भएका छन् भने अर्का ९ वर्षीय छोरा राजकुमार घाइते भएको प्रहरीले जनाएको छ।
यस्तै पोखरा–११ भन्ज्याङ नमुनाटोलस्थित एक घर पहिरोमा पुुरिदा ४२ वर्षीय लक्ष्य नेपालीको मृत्यु भएको छ । पहिरोमा परेर घाइते नेपालीको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कास्की प्रहरीका प्रवक्ता डीएसपी सुवास हमालले संचारकर्मीलाई बताए ।
त्यस्तै पोखरा–११ बसेरीमा एक घर पहिरोमा पुरिँदा एकदेव तिमिल्सिना, उनकी श्रीमती रितु, छोरा गिरीष पनि घाइते भएका छन् ।










