
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा आफु चितवनबाटै चुनाव लड्ने बताएका छन् ।
जापान भ्रमणमा रहेका उनले आज त्यहाँ नेपाली संचारकमीृहरुसंग कुराकानी गर्दै विभिन्न जिल्लाबाट चुनाव लड्न प्रस्ताव आए पनि आफू चितवनबाटै र त्यसमा पनि क्षेत्र नम्बर ३ बाटै उम्मेदवारी दिने प्रष्ट पारेका हुन्।
चुनावमा आफुलाई जापानमा रहेका नेपालीहरुले पनि सहयोग गर्नुपर्ने उनले बताए ।
‘मैले प्रष्टसँग ४–५ महिना अगाडिदेखि भनेको छु । म अन्तबाट होइन, चितवनबाटै लड्छु, चितवनको पनि क्षेत्र नम्बर ३ बाटै लड्छु’ बरु तपाईंहरु जापानमा रहने साथीभाइहरुले पनि सहयोग गर्नुहोला’, प्रचण्डले भने ।
देशको केन्द्रविन्दुमा रहेको र विकासको तीब्र गतिमा जाने सम्भवना भएकाले देशभरि सन्देश जाओस् भनेर चितवनलाई महत्व दिएको प्रचण्डको भनाई छ ।
चुनाव लड्नपर्यो भन्दै रुकुम, गोरखा, धनुषा, सिरहा, कालीकोटबाट आग्रह गरिएको भन्दै अध्यक्ष प्रचण्डले भने, साथीहरुलाई प्रचण्ड आइदिएदेखि जिल्लाको विकास ब्यापक रुपले हुन्थ्यो, जिल्लाको पहिचान हुन्थ्यो भन्ने लागेको छ । तर साथीहरु सबैलाई धन्यवाद भन्दै म चाहिँ यसपटक चितवनबाटै लड्छु भनेको छु ।’
संचारकर्मीहरुको छलफलमा बोल्दै पूवप्रधानमन्त्री समेत रहेका प्रचण्डले आफु चुनावपछि प्रधानमन्त्री हुने दौडमा नरहेको समेत प्रष्ट पारेका छन् । तर, राजनीतिक स्थिरता र विकासको वातावरण बनाउन भने आफ्नो अहम भूमिका रहने उनले बताए ।













