
काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गठबन्धनभित्रको सिट बाँडफाँटबारे असन्तुष्टी जनाएका छन् । उनले सत्ता सिट भाँडफाँटमा आफुलाई उब्रेको मात्रै दिने प्रवृत्ति देखिएको भन्दै असन्तुष्टी जनाएका छन् ।
पार्टीको युवा संगठन युवा संघ नेपालले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले गठबन्धनमा रहेका ठुला दलहरुले सिट बाँडफाँटमा एकलौटी गरेर आफुलाई अपमान गरेका बताएका छन् । ‘जम्मै आफूले लिने उब्रेको हामीलाई दिने, यस्तो हुन्छ भने हामीलई स्वीकार्य हुँदैन’, कार्यक्रममा अध्यक्ष नेपालले भने ।
सबैलाई फाइदा हुनेगरी सत्ता गठबन्धन चुनावमा गएमात्रै न्यायोचित हुने उनको भनाई थियो । उनले दुबै पक्षलाई फाइदा हुनेगरी सिट बाँडफाँट भएमात्रै गठबन्धन हुनसक्ने अन्यथा कसैका लागि बलिदान भई गठबन्धन गर्नुको अर्थ नहुने बताए ।
नेता नेपालले दलहरुमा नेता व्यवस्थापन गर्न कठिन भए पनि अप्ठेरोमा साथ दिएको कुरा विर्सन र आफूहरुको भूमिकाको अवमूल्यन गर्न नहुने बताए । अध्यक्ष नेपालले सत्ता गठबन्धनभित्रका दलहरुभित्र पनि विभिन्न बिचार समुह भएकाले केहि असहज भएपनि गठबन्धनले छिट्टै सिट बाँडफाँट छिटो टुंग्याउने आश्वासन भने दिए।
सत्ता गठबन्धनको प्रमुख घटक नेपाली काँग्रेसले प्रतिनिधि सभाका १६५ सिटमध्ये एक्लैले १०० सिट दावी गरेपछि गठबन्धनमा सिट भाँडफाँटबारे टुंगो लाग्न सकिरहेको छैन् ।










