
काठमाडौं। काठमाडौंमा ठगीको धन्दा गर्ने नयां शैली भेटिएको छ । घाँटीमा नक्कली परिचयपत्र बोकेर सरकारी पोशाक लगाएर राजश्वका कर्मचारी हुँ भन्दै होटलबाट रकम असुली गर्ने समुहलाई प्रहरीले पक्राउ गरेको छ । आफुलाई आन्तरिक राजस्व कार्यालयका कर्मचारी हौं भन्दै केही व्यक्तिहरुले काठमाडौंको बसपार्क क्षेत्रमा रहेका होटल, रेष्टुरेन्ट र पसलबाट रकम असुल गरेको सूचना पाएपछि प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।
प्रहरी परिसर काठमाडौंले जनाएअनुसार त्यसरी रकम असुली गरेको आरोपमा ८ जनालाई पक्राउ गरिएको छ ।
उनिहरुले ५ लाख रुपैयाँ भन्दा बढी रकम असुलेको पाइएको प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भरत बोहराले जानकारी दिए ।
उनकाअनुसार पक्राउ पर्नेमा पाँचथरकी सिर्जना भट्टराई, अछामका सागर जंग लुहार, सिन्धुपाल्चोककी प्रमिसा तामाङ, अछामकी दूधकला विक, नुवाकोटकी अञ्जना तामाङ, पूर्वी नवलपरासीका मीनबहादुर बिक, कञ्चनपुरका राजीव विष्ट र डेविड धामी रहेका छन् ।
पक्रउ परेकाामध्ये ६ जना सरकारी पोशाकमा र दुई जना सामान्य पोशाकमा प्रहरीले पक्राउ गरेको हो । प्रहरीकाअनुसार उनिहरु १९ देखि ३० वर्ष उमेर समुहमा छन् ।
पक्राउ परेका राजीव विष्ट र डेविड धामीको डेराबाट आन्तरिक राजस्व कार्यालयको जस्तै स्टाम्प, लेटरप्याड, रसिद र परिचयपत्र भेटिएको प्रहरीले बताएको छ । पक्राउ परेकामाथि अनुसन्धान गरेर उनीहरुविरुद्ध ठगी र कीर्तेसम्बन्धी कसुरमा सजाय हुने प्रहरीले बताएको छ ।











